प्रधानमन्त्री ओलीको उपचार खर्चः थाईल्याण्ड जाँदा ५० लाख लाग्थ्यो, नेपालमा कति ?



काठमाडौं : सोमबारदेखि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीको उपचारमा अहिलेसम्म ५० हजार खर्च भएको बताइएको छ । ५ दिनदेखि महाराजगन्ज टीचिङमा उपचाररत प्रधानमन्त्री ओलीको आज शुक्रबार सम्मको उपचार खर्च  ४० देखि ५० हजार पुगेको डा अरुण सायमीले बताए । 

डाक्टर सायमीले भने, ‘अहिलेसम्म प्रधानमन्त्रीको उपचार भैइरहेको हुँदा खर्चको बारेमा आधिकारिक जानकारी गराउन नसकेपनि सोमबारदेखि शुक्रबार सम्मको अनुमानित रकम ४० देखि ५० हजार हो ।’

अहिले प्रधानमन्त्री ओलीलाई भर्ना गरिएको दैनिक वेड चार्ज २५ सय र ५ दिनसम्म चलाइएको एउटा एन्टिबायोटिकको मूल्य रु १० हजार परेको अनुमान गरिएको छ भने अन्य सामान्य शुल्कमा पाईने औषधी प्रयोग गरेको डा. सायामीले बताए ।

उनले भने, ‘यदि प्रधानमन्त्री ओली अहिले पनि उपचारको लागि बैंकक जानुभएको भए आउँदा–जाँदा र बस्ने  ५० लाख या भारत नै जानूभएको भए पनि १५ देखि २० लाख सम्म त लाग्थ्यो नै होला । तर यो पटक भने नेपालकै सरकारी अस्पतालमा उहाँले निकै राम्रो र कम शुल्कमा उपचार पाउनुभएको छ ।’  

डिस्चार्जपछि प्रधानमन्त्रीको उपचार खर्चको बिल सरकारलाई बुझाए पछि अस्पतालले खर्च पाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्