सिन्धुपाल्चोकका बाढीपीडितको गुनासो-बस्ती जोगाउन सरकारले सहयोग गरेन



सिन्धुपाल्चोक । असार १ गते आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बुमा ९० र मेलम्चीमा ८६ घरपरिवार विस्थापित भएका थिए । पाँच जनाको मृत्यु भयो भने अझै २० जना बेपत्ता छन् । शनिबारदेखि मेलम्चीमा पुनः बाढी आएको छ । बाढीले हेलम्बु र मेलम्चीमा ६० वटा टहरा बगाएको छ। त्यस्तै यी दुई पालिकाका विभिन्न वडा जोड्ने पुल पनि बगाएको छ ।

पुल बगाउँदा मेलम्ची–७, ८, ९ र १०, हेलम्बु–१, २ र ३, पाँचपोखरी थाङ्पाल तथा इन्द्रावतीका सबै वडासँगको सडक सञ्जाल टुटेको छ । नदीको धार परिवर्तनमा सरकारले सहयोग गरे पुरिएका घरमा बस्न सकिने स्थानीय बताउँछन् । आफूहरूको कुरा सरकारले नसुनेको उनीहरूको गुनासो छ । असार १ गते र असार १६ गते आएको बाढीले करोडौँको क्षति पुर्‍याएको तर विस्थापित भएको ४९ दिन बितिसक्दासमेत जोगाउन सक्ने बस्ती पनि जोगाउन सरकारले कुनै पहल नगरेको मेलम्चीका होटल व्यवसायी चन्द्रबहादुर तामाङले बताए ।

राहत भन्दा बस्ती संरक्षण गरिदिन तीनै तहका सरकारसँग उनको आग्रह छ । करोडौँ लगानी गरेर बनाएका घर, फार्म तथा खेतीयोग्य जमिन बगर बनेपछि बाढी प्रभावितको मन अझै विचलित छ । सम्पत्तिका नाममा बचेको चार आना जग्गा पनि खोलाले कटान गरिरहेको मेलम्चीकी लक्ष्मी श्रेष्ठ बताउँछिन् । टाढाको सरकार त के कुरा स्थानीय सरकारले पनि बाढी प्रभावितको कुरा नसुनेको श्रेष्ठको दुखेसो छ । अहिले बाढीले नबगाएका कतिपय घर जोगाउन सकिने भए पनि सरकारले नदी नियन्त्रणमा कुनै पहल नगरेको प्रभावितहरू गुनासो गर्छन् ।

स्थायी वा अस्थायी आवास निर्माणको पहल नथालेको भन्दै प्रभावित आक्रोशित छन् । बस्ती जोगाउन स्थानीय सरकारले चाहेको भए एक हप्तामा जोगाउन सक्ने तर बेवास्ता गरेको बाढी प्रभावित एवं मेलम्ची पुनः निर्माण सरोकार समितिका अगुवा सागर श्रेष्ठले बताए । बाढी प्रभावित आफैँले पैसा उठाएर आफ्नो बस्ती आफैँ बचाउने अभियान चलाइरहेका छन् ।

सरकारले आफूहरूलाई बेवास्ता गरेको उनीहरूको गुनासो छ । प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले बाढी आएको मुहान क्षेत्र भ्रेमाथानको अध्ययन नगरी तल्लो भेगमा कुनै पनि काम थाल्ने अवस्था नभएको बताए । तारजाली राखेर जोगाउन प्रयास गरे पनि हिमाली क्षेत्रमा व्यवस्थित नगरी तटीय क्षेत्रमा गरेको काम प्रभावकारी नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्