रैथाने आलु बाली उत्पादनमा सफलता



बागलुङ : स्थापना भएको पहिलो वर्षमै कृषि ज्ञान केन्द्र बागलुङले आर्थिक वर्ष २०७७/७८ का कार्यक्रममा ८० देखि ९० प्रतिशतसम्म उपलब्धि हासिल गरेको दाबी गरेको छ । गत वर्ष सञ्चालित आलु प्रवर्धन विशेष कार्यक्रममा ९९.४७ प्रतिशत उपलब्धि गरेको कार्यालयको तथ्याङ्कमा छ । आलु प्रवर्धनत्मक कार्यक्रममार्फत तीन हजार केजी आलुको बीउ लगाएर ३०० रोपनीमा २१० मेट्रिक टन आलु उत्पादन गरेको केन्द्रका सूचना अधिकारी कुमार पुनले जानकारी दिए । उक्त कामका लागि रु सात लाख ५० हजार बजेट थियो । किसानले उत्पादन गरेको आलु बजारमा बिक्रीसमेत गरेका छन् ।

बागलुङको काठेखोला, ढोरपाटन नगरपालिका, तमान र निसीखोलालगायतका सबै पालिकामा आलुखेती विस्तार भएको हो । अघिल्लो वर्षभन्दा यो वर्ष आलुको उत्पादन बढेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । ‘‘कृषि प्राविधिकको सल्लाह, बीउ तथा औषधिको उचित प्रयोग जस्ता कारणले उत्पादन बढेको छ’’ पुनले भने, ‘‘ज्ञान केन्द्र स्थापनाले किसानले समयमै समस्याको समाधान पनि गर्न पाएका छन् ।’’ अघिल्ला वर्ष किसानले अनुदान नपाउने, प्रविधि र उन्नत बीउसमेत पाउन नसकेकोमा केन्द्र स्थापना भएपछि यो सहज भएको उनले बताए ।

रैथाने बाली संरक्षण कार्यक्रममा पनि ९८ प्रतिशत सफलता पाएको कार्यालयको तथ्याङ्क छ । ६ वटा समूहले १५० रोपनीमा रैथाने बाली लगाउने कार्यका लागि १५ लाख बजेट थियो । मकै, भटमास र चैते धानखेती विस्तार कार्यक्रममा पनि १५ लाख खर्चेर ९० प्रतिशत सफलता पाएको कार्यालयले तत्थाङ्क निकालेको छ । उक्त कार्यक्रममा ६ वटा समूहले २०० रोपनीमा मकै, ६० रोपनीमा भटमास खेती गरेका थिए । दुई सय ९२ रोपनीमा तरकारी खेती विस्तार भएको र उक्त स्थानमा चार हजार १३० वर्गमिटर प्लाष्टिक टनेल विस्तार भएको पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्