मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु



सप्तरी । सप्तरीमा मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ। मोटरसाइकल पछाडि सवार अन्य दुई जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा२ख ५६८२ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको स११प ४०३८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा मोटरसाइकलको बायाँ साइडको ह्यान्डिल बसको बीच भागमा ठोकिएको थियो । मोटरसाइकल बसमा ठोक्किएर अनियन्त्रित भएकै समयमा विपरीत दिशाबाट आउँदै गरेको प्र.न. २-०१-००१ प ९५५६ नम्बरको अर्को मोटरसाइकल उक्त मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स११प ४०३८ नम्बरको मोटरसाइकलका चालक सप्तरीको शम्भुनाथ नगरपालिका ७ बस्ने २८ वर्षीय बुद्धसागर चौधरी र प्र.न.२-०१-००१ प ९५५६ नम्बरको मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका १७ बस्ने २८ वर्षीय रामशंकर यादवको मृत्यु भएको छ । चौधरीको घटनास्थलमै र यादवको सप्तऋषि अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दुर्घटनामा स.११.प. ४०३८ नम्बरको मोटरसाइकलमा पछाडि सवार सप्तरीको शम्भुनाथ नगरपालिका ७ बस्ने २८ वर्षीय आन्नद चौधरी र प्र.न.२-०१-००१ प ९५५६ नम्बरको मोटरसाइकलको पछाडि सबार सिरहाको लहान नगरपालिका २० बस्ने २३ वर्षीय सोनम चौधरी घाइते भएका छन् । दुर्घट्ना भएको मोटरसाइकल बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्