पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा



काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट खेलाडी तथा पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाएका छन् । क्रिकेटर खड्काले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मिठो यादका रुपमा आफूसँग रहने भन्दै नेपाली क्रिकेटलाई सबै मिलेर नयाँ उचाइमा पुर्‍याउने विश्वाससमेत व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा यात्रा टुङ्गिए पनि नेपाली क्रिकेटको लागि आफ्नो सपना अझै पनि बामे सर्दै गरेको उनको भनाइ छ ।सन् २००२ देखि क्रिकेट यात्राको सुरुआत गरेका खड्काकै कप्तानीमा नेपाली क्रिकेटको उल्लेख्य प्रगति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्