‘अफगानिस्तानमा शान्ति सेना पठाउने विषयमा सोचेका छैनौं’



काबुल : अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना पठाउने विषयमा अहिले नसोचिएको संयुक्त राष्ट्रसङ्घका लागि भारतीय राजदूतले बताएका छन् । संयुक्त राष्ट्रसङ्घका लागि भारतीय राजदूत टिएस तिरुमूर्तिले सो कुरा बताएका हुन् ।

उनले भनेका छन्, हामीले अहिले नै अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना पठाउने बारेमा केही सोचेका छैनौँ, मलाइ लाग्छ यो अहिलेको अवस्थाको समाधानका लागि शान्ति वार्ता नै विकल्प हुनसक्छ । हाल भारत संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अध्यक्ष रहेको छ । अध्यक्षको हैसियतमा तिरुमूर्तिले सो कुरा बताएका हुन् । उनले भनेका छन् कि तर हाल अफगानिस्तानको अवस्था निकै नै कमजोर भएको छ, त्यहाँका तालिबानीले हिंसालाई बढावा दिएका छन् र विभिन्न शहरमा उनीहरुले आक्रमण गरेको समाचार आइरहेका छन् । राजदूत तिरुमूर्तिले सुरक्षा परिषद्को बैठकमा बोल्दै संयुक्त राष्ट्रसङ्घले अझै पनि अफगानिस्तानको समस्याको समाधान वार्ताबाटै गर्नुपर्छ भन्ने ठानेको छ भने ।

हेल्माण्डमा सेना र तालिबानीबीच भीषण भीडन्त
उता अफगानिस्तानको दक्षिणी हेल्माण्ड प्रान्तमा तालिबानीसँग भीषण भीडन्त जारी नै रहेको समाचारमा आएको छ । अफगानिस्तानको सेना र अमेरिकी सेनाले सो क्षेत्रमा हवाई हमला जारी राखे पनि दक्षिणी हेल्मान्ड प्रान्तको एक शहर लस्कर गाहमा तालिबानीले कडारुपमा प्रतिवाद गरिरहेको बताइएको छ ।

सोमबार प्राप्त भएको समाचारमा उक्त सहरमा तालिबानले एउटा टेलिभिजन स्टेशन नै कब्जामा लिएका बताइएको छ । यहाँका प्रत्यक्षदर्शीले दिएको जानकारीअनुसार यहाँका ग्रमीण क्षेत्रका कैयौँ मानिसले कतिपय गाउँका खाली भवन तथा कार्यालयमा शरण लिएर बसेका छन् । केही दिनयता अफगान तालिबानीले आक्रमणलाई तीव्र बनाएपछि विद्रोहीसँग लड्न ठूलो संख्यामा थप अफगान सैनिक परिचालन गरिएको छ । यसअघि सो क्षेत्रमा अमेरिकी सेना करिब बीस वर्षसम्म रहेका अमेरिकी सेना हालैमात्र त्यहाँबाट हटेपछि अहिले अफगानिस्तानको सेनाले सुरक्षा दिँदै आएको थियो । केही दिनयता सो क्षेत्रमा तालिबानीले तीव्ररूपमा आक्रमण गरेर कैयौँ भू–भाग कब्जा गर्ने प्रयास गरिरहेका छन् । उनीहरुले केही स्थान त कब्जामा लिइसककेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्