निर्णय भएको डेढ वर्षसम्म पनि गाभिएनन् विद्यालय



गुल्मी : निर्णय भएको डेढ वर्षसम्म पनि गुल्मीका विद्यालय गाभिन सकेका छैनन् । जिल्लाको मालिका गाउँपालिका–८ मर्भुङ सिमलटारीस्थित सिभिल इङ्लिस बोर्डिङ स्कूल र मालिका माध्यमिक विद्यालय गाभिन नसकेका हुन् । मालिकामा एकै प्रकारको शिक्षा लागू गर्ने उद्देश्यले विक्रम संवत् २०७६ सालबाट २ विद्यालय गाभिने चर्चा चलेको थियो ।

त्यसको झण्डै १ वर्षपछि २०७७ माघ २० गते २ विद्यालयको बीचमा गाभिएको सम्झौता भएको थियो । बोर्डिङ स्कूलको भवन र जग्गाको मूल्यांकन गरी १ करोड १० लाख मालिका माविले बोर्डिङलाई दिने सम्झौता भयो । जसमध्ये ४० लाख रुपैयाँ तत्कालै दिने र त्यसपछि विभिन्न किस्तामा गरी ५० लाख रुपैयाँ दिने सहमति भयो । प्रदेश वा केन्द्रबाट नमूना विद्यालयका लागि पहल गर्ने र बजेट विनियोजन भए त्यसबाट २० लाख रुपैयाँ दिने सहमति भयो ।

मर्ज भइसकेपछि बोर्डिङ स्कूलको भवनमा ५ कक्षासम्म सरकारीस्तरबाटै अंग्रेजी शिक्षा सञ्चालन गर्ने र मालिका माविमा नेपाली माध्यमबाट कक्षा सञ्चालन गर्ने निर्णय भएको थियो । तर अहिलेसम्म मालिका माविले सिभिल इङ्लिस बोर्डिङ स्कूललाई १ रुपैयाँ पनि दिएको छैन भने विद्यालयमा अंग्रेजी शिक्षा पनि सञ्चालन भएको छैन ।

बोर्डिङ स्कूल सञ्चालक समिति अध्यक्ष सूर्यबहादुर जिसीले सम्झौतालाई मालिका माविले बेवास्ता गर्दा मर्जको काम अगाडि बढ्न नसकेको बताए ।निर्णयले अहिले अभिभावकले आफ्ना बालबच्चा कहाँ पढाउने भनेर अलमलमा परेको उनले बताए । उनले सम्झौताअनुसार रकम दिई विद्यालय मर्जको काम अगाडि बढाउनुपर्नेमा जोड दिए । मालिका माविले सञ्चालन गरेको धार्मिक महायज्ञबाट संकलित रकममध्येबाट बोर्डिङलाई रकम दिएर गाभ्ने निर्णय गरेको थियो ।

निर्णयको केही अभिभावकले विरोध गरेका कारण विद्यालय मर्जको काम अगाडि नबढेको प्रध्यानाध्यापक हेमराज पौड्यालले बताए । उनले निर्णय गरिसकेपछि आफूहरूलाई बोर्डिङ स्कूलका पदाधिकारीसँग मिलेमतो गरेको आरोप आएका कारण पनि मर्जको काम अगाडि बढाउन नसकिएको पौड्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्