कैलालीका किसानलाई दोस्रोपटक धान भित्र्याउने चटारो



कैलाली : भजनी नगरपालिका–३ की सीमादेवी डंगौरा धान भित्र्याउन खेतमा व्यस्त छन् । उनी चैतमा लगाएको धान दोस्रोपटक भित्र्याउन व्यस्त देखिएका हुन् । असारको पहिलो सातासम्म पहिलोपटक चैते धान भित्र्याएकी सीमादेवी मात्रै होइन, यतिखेर भजनीका किसान दोस्रोपटक चैते धान भित्र्याउन खेतमा व्यस्त देखिएको हुन् । बाढी र डुबानका कारण बर्खे धान रोप्नै छाडेका किसानको मुख्य स्रोत नै चैते धान बनेको छ । केही उच्चो ठाउँ भएका किसानले चैते धान भित्र्याएसँगै बर्खे धान रोपे पनि डुबानको जोखिम भएका क्षेत्रमा किसानले धान रोपेका थिएनन् ।

“हामीले एक बिघामा चैते धान रोपेका थियौँ । त्यसबाट करिब ४० क्विन्टल धान उत्पादन भएको थियो”, सीमाले भनिन्, “बाँकी रहेका डाँठबाट फेरि धानको पालुवा आएसँगै अहिले पुनः दोस्रोपटक खेतमा धान पाकेको छ । त्यही धान भित्र्याउन लागेका हौँ ।” उनले तत्काल बाढी नआए लगाएको सबै धान भित्र्याउन सक्ने अवस्था भएमा २० देखि २५ क्विन्टल धान उत्पादन हुने बताएका छन् । सोही ठाउँका चुनीराम डंगौराले एक बिघा १० कठ्ठामा चैते धान रोपेका थिए । पहिलो चरणमा करिब ७० क्विन्टल धान उत्पादन गर्न सफल भएका चुनीरामलाई त्यही खेतबाट पुनः धान भित्र्याउन हतारो छ । “मौसमले राम्रो साथ दिएको छ । उत्पादन भएको सबै धान भित्र्याउन सके अझै ३० देखि ३५ क्विन्टल धान उत्पादन हुन्छ होला”, चुनीरामले भने, “बर्खे धानभन्दा चैते धान कैयौँ गुणा उत्पादनका लागि राम्रो छ । हाम्रा आम्दानी र परिवार पाल्ने स्रोत नै चैते धान बनेको छ ।” उनले बाढी आउने क्षेत्रमा चैते धानको आकर्षण बढ्दै गएको भन्दै चैतमा धान रोपेका अधिकांश किसान दोस्रोपटक धान भित्र्याउन अहिले खेतमै देखिने गरेको बताए ।

किसान छेदुलाल डंगौराले सात कठ्ठामा २० क्विन्टल धान फलाउन सफल भएको बताउँदै अहिले दोस्रोपटक पनि सोही खेतमा सात क्विन्टल धान फलेको बताए । “उत्पादन राम्रो छ । तर बर्खे धानभन्दा चैते धानमा मेहेनत बढी गर्नुपर्छ”, उनले भने, “बेमौसम भएका कारण भएर होला धानको उचित मूल्य भने पाइएको छैन ।” धानको मूल्य मनलाग्दी हुँदा सस्तोमा धान बेच्नुपर्ने बाध्यता रहेको छेदुलालको भनाइ छ । उनले बर्खे धानको सिजनमा सरकारले नै धानको न्यूनतम मूल्य निर्धारण गर्ने गरेको बताउँदै भजनी क्षेत्रमा बर्खे धानभन्दा चैते धानको उत्पादन बढी हुने भएका कारण त्यसको मूल्य निर्धाण पनि गरिदिएको भए किसानलाई राहत मिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्