कांग्रेसको कार्यतालिका भत्क्यो, महाधिवेशन अन्योलमा



काठमाडौँ : भदौ दोस्रो साता १४ औं महाधिवेशन गर्न कांग्रेसले यतिबेला वडा, गाउँरनगर अधिवेशन सक्नुपथ्र्यो । तर, क्रियाशील सदस्यताको विवाद सुल्झाउन नसक्दा महाधिवेशनको कार्यतालिका भत्किँदै गएको छ । अब बाँकी एक महिनाभन्दा कम अवधिमा महाधिवेशन सम्पन्न हुनेमा नेताहरूले नै आशंका व्यक्त गर्न थालेका छन् ।

कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति बनाएको थियो । बारा, रौतहटलगायत जिल्लाको विवाद समाधान गर्न नसकेर समितिले शीर्ष नेतृत्वलाई नै जिम्मा लगायो । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सम्मिलित उच्चस्तरीय समितिले छलफल जारी राखे पनि विवादको टुंगो लगाउन सकेको छैन । कांग्रेसलाई भदौ २३ भित्र १४ औं महाधिवेशन सम्पन्न गर्नै पर्ने संवैधानिक बाध्यता छ ।

पाँच वर्षभित्र महाधिवेशन नगरेको कांग्रेसले ‘विशेष परिस्थितिमा ६ महिना पर महाधिवेशन सार्न पाउने’ संवैधानिक अधिकारको पनि उपयोग गरिसकेको छ।
संविधानको धारा २६९ (४) (ख) को व्यवस्थाअनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको पदावधि २०७७ फागुनमा नै सकिएको हो । विशेष परिस्थिति दर्शाउँदै सोही धाराको उपधारा (ख) को व्यवस्थाअनुसार ६ महिना पदावधि थप गरिसकेको छ। त्यससँगै भदौ २३ गतेभित्र महाधिवेशन गर्ने बाटो खुलेको हो ।

१३ औं महाधिवेशन २०७२ फागुनमा भएको थियो। सभापति देउवाको ५ वर्षे कार्यकाल गत फागुन २३ गते नै सकिएको हो। क्रियाशील सदस्यताकै टुंगो नलाग्दा भदौ २३ गतेभित्र महाधिवेशन हुनेमा कांग्रेसकै शीर्ष नेता अन्योलमा छन् । भदौ १६–१९ मा निर्धारित महाधिवेशनका लागि साउन १२ मा वडा र साउन १६ मा गाउँरनगर अधिवेशन तोकिएको थियो । तर, कार्यतालिकाअनुसार दुवै अधिवेशन हुन सकेनन् ।

नेता सिटौला निर्धारित समयमा महाधिवेशन हुनेमा ढुक्क छैनन् । ‘महाधिवेशन हुन्छ, समय केही तलमाथि होला’, सिटौला भन्छन् । केही जिल्लामा देखिएको क्रियाशीलताको समस्या केही दिनमा समाधान हुने उनको विश्वास छ । तर, विवाद समाधान गर्न शीर्ष नेतृत्वले लिएको पाँच दिनको मिति पनि मंगलबार सकिएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्