महन्थ ठाकुरको रिट न्यायाधीश राउतको एकल इजलासमा



काठमाडौं : जनता समाजवादी पार्टीका प्रथम अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोग समेतलाई विपक्षी बनाएर दायर गरेका रिट निवेदन सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा परेको छ ।

न्यायाधीश राउतको इजलासमा त्यो रिट पहिलो नम्बरमै परेको छ । केही दिनदेखि निरन्तर पेशी चढेको त्यो रिटको पालो नआएपछि सुनुवाइ हुन सकेको थिएन । आज भने पहिलो नम्बरमै परेकाले सुनुवाइ हुने भएको छ ।

प्रथम वरियताका अध्यक्ष ठाकुर र दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवबीच आधिकारिकताको विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले यादवलाई आधिकारिता प्रदान गरेको थियो । आयोगले पुरानै केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिएर त्यसको बहुमतका आधारमा निर्णय दिएको थियो । तर कार्यकारिणी समितिले नै प्रथम अध्यक्ष ठाकुरलाई कार्यकारी अधिकार प्रदान गरी समिति विस्तारको अधिकार दिएको र त्यही अधिकार प्रयोग गरेर ठाकुरले कार्यकारिणी समितिमा २० जना सदस्य थप गरेका थिए । नयाँ थप २० सदस्यका बारेमा आयोगले केही नबोलेर पुरानै कार्यकारिणी समितिलाई मान्यता दिएको थियो ।

यादव पक्षले आधिकारिकता पाएपछि ठाकुर पक्षमा रहेका करिब १२ प्रतिनिधि सभा सदस्यको अवस्था के हुने भन्ने अन्यौल थियो । आयोगको त्यो निर्णयले आफूलाई अन्याय भएको भन्दै ठाकुरले सर्वाेच्चमा निवेदन दिएका थिए । त्यसको सुनुवाइको पालो आज आएको हो ।

प्रतिक्रिया दिनुहोस्