झापा : विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ भएका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शय्याको कोभिड उपचार केन्द्र रहेकामा ६० जना सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा टङ्क बाराकोटीले बताए । अस्पतालको ६० वटा शय्यामा मात्र अक्सिजनको सुविधा उपलब्ध छ।
ती सबै शय्या भरिएका छन् । अक्सिजन ‘सपोर्ट’ चाहिने नयाँ बिरामीलाई अन्य अस्पतालमा पठाउन थालिएको छ । पाँचवटा आइसीयु कक्षमध्ये तीनवटा कोभिडका बिरामीको उपचारका लागि छुट्याइएकामा सबै शय्या भरिएको उनले जानकारी दिए। झापामा सबैभन्दा बढी १०० शय्या कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याएको विर्तामोडको बीएन्डसी अस्पतालमा ७४ जना बिरामीको उपचार भइरहेको छ।
अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार कोभिडका लागि अस्पतालले ३२ शय्याको आइसीयु व्यवस्था गरेकामा सबै शय्या बिरामीले भरिएका छन्। “एक सातायता कोभिडका बिरामीको चाप ह्वात्तै बढेको छ,” गिरीले भने, “बिरामीको चाप बढ्दै गयो भने अरू शय्या थप्न तयार छौँ। बिरामीले उपचार नपाई फर्किने अवस्था सिर्जना हुन दिँदैनौँ ।” अस्पतालमा दैनिक २०० सिलिन्डर अक्सिजन खपत भइरहेको जनाउँदै उनले ५० सिलिन्डर अक्सिजन अस्पताल आफैंले दैनिक उत्पादन गरिरहेको बताए ।