महन्थ ठाकुरको रिटमा सुनुवाइ सम्पन्न, आदेश आउँदै



काठमाडौं : जनता समाजवादी पार्टीका प्रथम अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोग समेतलाई विपक्षी बनाएर दायर गरेका रिट निवेदनको सुनुवाइ सम्पन्न भएको छ । इजलासबाट आदेश भने बाँकी छ ।

त्यो रिट निवेदनको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा भएको हो । पहिलो नम्बरमै त्यो रिटको पेशी तोकिएको थियो । ठाकुरका तर्फबाट उपस्थित कानुन व्यवसायीहरुले बहस गरेका थिए । बहस सकिएपछि इजलासमा अन्य रिट निवेदनको सुनुवाइ भइरहेको छ । अन्य रिटको सुनुवाइपछि आदेश आउने सर्वाेच्च अदालतले जनाएको छ ।

प्रथम वरियताका अध्यक्ष ठाकुर र दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवबीच आधिकारिकताको विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले यादवलाई आधिकारिता प्रदान गरेको थियो । आयोगले पुरानै केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिएर त्यसको बहुमतका आधारमा निर्णय दिएको थियो । तर कार्यकारिणी समितिले नै प्रथम अध्यक्ष ठाकुरलाई कार्यकारी अधिकार प्रदान गरी समिति विस्तारको अधिकार दिएको र त्यही अधिकार प्रयोग गरेर ठाकुरले कार्यकारिणी समितिमा २० जना सदस्य थप गरेका थिए । नयाँ थप २० सदस्यका बारेमा आयोगले केही नबोलेर पुरानै कार्यकारिणी समितिलाई मान्यता दिएको थियो ।

यादव पक्षले आधिकारिकता पाएपछि ठाकुर पक्षमा रहेका करिब १२ प्रतिनिधि सभा सदस्यको अवस्था के हुने भन्ने अन्यौल थियो । आयोगको त्यो निर्णयले आफूलाई अन्याय भएको भन्दै ठाकुरले सर्वोच्चमा निवेदन दिएका थिए । त्यसको सुनुवाइको पालो आज आएको हो ।

प्रतिक्रिया दिनुहोस्