सरकार र बीपी प्रतिष्ठानका आन्दोलनरत कर्मचारीबीच ६ बुँदे सहमति



सुनसरी : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत कर्मचारी र सरकार पक्षबीच ६ बुँदे सहमति भएको छ । बुधवार स्वास्थ्य मन्त्रालयले गठन गरेको स्वास्थ्य सेवा विभागका निर्देशक डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा भएको वार्तामा छ बुँदे सहमति भएपछि आन्दोलनरत स्वास्थ्यकर्मीहरु काममा फर्किएका हुन् ।

सहमतिपत्रमा सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समेत रहेका डा. पौडेलसहित सदस्यहरु मानबहादुर बस्नेत र देवराज भण्डारीले हस्ताक्षर गरेका छन् । यस्तै, संघर्ष समितिका तर्फबाट संयोजक डा. एसपी रिमाल, सहसंयोजक डा. विष्णु पोखरेल र १२ जना सदस्यले हस्ताक्षर गरेका छन् ।

सरकारलाई मंगलबार बुझाइएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक महाशाखा आजै तोक्ने, प्रतिष्ठान ऐन को दफा ११ (घ) मा व्यवस्था भएअनुरुप चारैजना पदाधिकारीहरुलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रक्रिया आजैबाट सुरु गर्ने, अबउप्रान्त प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि मापदण्डसहितको कार्यविधि तर्जुमा गर्नेलगायत मागहरुमा सहमति भएको छ ।

त्यस्तै, प्रतिष्ठानसँग सम्बन्धित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमा विचाराधीन उजुरी तथा मुद्दाहरुको कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा पनि सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्