महन्थ ठाकुरको सबै रिट निवेदन सँगै राखी पेश गर्न आदेश



काठमाडौं : जनता समाजवादी पार्टीका प्रथम अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोग समेतलाई विपक्षी बनाएर दायर गरेका रिट निवेदनका सर्वाेच्चले सबै लगाउका मुद्दा सँगै राखेर पेश गर्न आदेश दिएको छ ।

त्यो रिट निवेदनको सुनुवाइ बुधबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा भएको हो । पहिलो नम्बरमै त्यो रिटको पेशी तोकिएको थियो । ठाकुरका तर्फबाट उपस्थित कानुन व्यवसायीहरुले बहस गरेका थिए । बहस सकिएपछि इजलासले ठाकुरले यसअघि पनि आयोगको सनाखत निर्णय रोक्न मागसहितको रिट दायर गरेकाले ती सबै रिट निवेदन सँगै राखेर अर्काे पेशीमा सुनुवाइका लागि पेश गर्न आदेश दिएको सर्वाेच्च अदालतले जनाएको छ ।

प्रथम वरियताका अध्यक्ष ठाकुर र दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवबीच आधिकारिकताको विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले यादवलाई आधिकारिता प्रदान गरेको थियो । आयोगले पुरानै केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिएर त्यसको बहुमतका आधारमा निर्णय दिएको थियो । तर कार्यकारिणी समितिले नै प्रथम अध्यक्ष ठाकुरलाई कार्यकारी अधिकार प्रदान गरी समिति विस्तारको अधिकार दिएको र त्यही अधिकार प्रयोग गरेर ठाकुरले कार्यकारिणी समितिमा २० जना सदस्य थप गरेका थिए । नयाँ थप २० सदस्यका बारेमा आयोगले केही नबोलेर पुरानै कार्यकारिणी समितिलाई मान्यता दिएको थियो ।

यादव पक्षले आधिकारिकता पाएपछि ठाकुर पक्षमा रहेका करिब १२ प्रतिनिधि सभा सदस्यको अवस्था के हुने भन्ने अन्यौल थियो । आयोगको त्यो निर्णयले आफूलाई अन्याय भएको भन्दै ठाकुरले सर्वोच्चमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्