मेक्सिकोले दायर गर्‍यो बन्दुक उत्पादक अमेरिकी कम्पनीविरुद्ध मुद्दा



एजेन्सी : अमेक्सिको सरकारले अमेरिकाका केही ठूलो बन्दुक उत्पादकविरुद्ध मुद्दा दायर गरेको छ । लारवाहीपूर्ण व्यापारिक आचरणको प्रयोग गरेर रक्तपातलाई बढावा दिएको आरोप मेक्सिकोले अमेरिकी बन्दुक उत्पादक कम्पनीहरुमाथि लगाएको छ ।

मेक्सिकोले दायर गरेको मुद्दामा १० अर्ब अमेरिकी डलर बराबरको क्षतिपूर्ति माग गरिएको छ । मेक्सिकोले जति दाबी गरे पनि क्षतिपूर्ति वा जरिवाना कति हुने भन्ने अदालतले निर्धारण गर्ने छ ।

आफ्नो व्यापारिक हितका लागि रक्तपातलाई बढावा दिने खालका नीति अख्तियार गरेको आरोप लगाइएका कम्पनीहरुले अहिलेसम्म टिप्पणी गरेका छैनन् । स्मीथ एण्ड वेसन, बारेट फायरआर्म्ससहितका कम्पनीविरुद्ध मुद्दा दायर भएको हो ।

मासाचुसेट्स राज्यको अदालतमा बुधबार मुद्दा दायर भएको हो । मेक्सिकोका लागुऔषध तस्कर समूहसहित अरु आपराधिक समूहलाई गैरकानूनी रुपमा तस्करीमाफर्त बन्दुक उपलब्ध गराउने गरेको आरोप छ । तस्करीमा कम्पनीहरुको सहयोग रहेको आरोप मेक्सिकोको छ ।

आफ्ना उत्पादनहरु तस्करी भएर आपराधिक समूहसम्म पुगेको जानकारी भएर पनि कम्पनीहरुले त्यसलाई रोक्न कुनै प्रयास नगरेको दायर मुद्दामा आरोप छ ।

मेक्सिकोमा तस्करी हुने बन्दुक मध्ये ७० प्रतिशत अमेरिकाबाट हुने सरकारको भनाई रहेको समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्