सोनी म्यूजिकको कार्यालयमा दुई जनामाथि चक्कू प्रहार



काठमाडौं : बेलायतको राजधानी लण्डनमा रहेको सोनी म्यूजिक कार्यालयमा शुक्रबार दुई जनालाई चक्कू प्रहार गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।धारिलो हतियार प्रयोग गरी भएको आक्रमणलाई आतङ्कवादी घटनाभन्दा भिन्न प्रकृतिको घटनाका रूपमा बेलायती प्रहरीले प्रारम्भिक अनुसन्धानपछि जनाएको छ । 

प्रहरीलाई स्थानीय समय अनुसार बिहान ११ बजे घटनाबारे जानकारी गराइएपछि तत्कालै घटनास्थल डेरी स्ट्रीटमा सशस्त्र सुरक्षाकर्मी पठाइएको लण्डन महानगरीय प्रहरीले एक विज्ञप्ति जारी गरी जनाएको छ । 

बेलायती सञ्चारमाध्यमले घटना सोनी म्युजिक कम्पनीको भवनमा भएको बताएका छन् । 

त्यस ठाउँमा थप दुर्घटना हुन नदिन सावधानीस्वरूप घटनास्थललाई घेरा हाली विस्तारै खाली गरिएको छ प्रहरीले जनाएको छ । घटनास्थलमा आकस्मिक सेवा प्रदान गर्न चिकित्सकसहितका अन्य स्वास्थ्यकर्मीलाई सतर्क अवस्थामा राखिएको प्रहरीले बताएको छ । 

घटनास्थल हाई स्ट्रीट केन्सिङटन व्यावसायिक क्षेत्रमा रहेका दैनिक पत्रिकाको कार्यालयहरूको सामुन्नेमा रहेको सोनी म्यूजिक कम्पनीको कार्यालयमा भएको हो । 

घटनास्थलमा ६ जना भन्दा बढी समूहमा पटकपटक गरी सशस्त्र प्रहरी छिरेका र आक्रमणकारी भाग्ने आशङ्कामा मानिसहरूलाई भित्र छिर्न र बाहिर निस्कन नदिएको प्रत्यक्षदर्शी तथा द मेलका कर्मचारी ट्रीस एलिसले एएफपीलाई घटनाबारे बताए । 

घटना भएको करिब एक घण्टापछि प्रहरीले दश पन्ध्र जनाको सङ्ख्यामा भित्र रहेका मानिसहरूलाई छोडेको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्