तुइन प्रकरण : गृहमन्त्रालयको छानबिन टोली घटनास्थल मालघाटतिर



दार्चुला : तुइन काटिएर जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ । मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो ।

जयसिंह धामी बेपत्ता प्रकरणमा सूक्ष्म ढङ्गले अध्ययन गरेरै प्रतिवेदन आउने उल्लेख गर्नुभएका गौतमले घटनास्थल पुगेर त्यहाँको वस्तुस्थिति ल्याइने बताएका छन् । यस्तै समितिले भारतीय एसएसबी र स्थानीयवासीले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिने जनाएको छ ।

गत साउन १५ गते व्यास गाउँपालिका–२ का मालका जयसिंह धामी सदरमुकाम खलङ्गामा महाकाली नदीमा बेपत्ता भएका थिए । भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार फुकालिदिँदा घटना घटेको समाचार आएसँगै घटनाबारे अध्ययन गर्न छानबिन समिति दार्चुला पुगेको हो । बेपत्ता धामी अझै फेला परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्