स्वास्थ्य मापदण्डसहित शान्तिपूर्ण रुपमा परीक्षा सञ्चालन



अनिल यादव/ रौतहट : जिल्लाकै पुरानो विद्यालयको रुपमा रहेको दुर्गा भगवती गाउँपालिकास्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा कक्षा ११ को परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको छ ।

कोरोना भाइरस संक्रमणले असहज स्थिति उत्पन्न भएपछि सरकारले स्वास्थ्य मापदण्डको पालना गरेर परीक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो । सरकारको निर्देशनअनुसार विद्यालय प्रशासनले स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित परीक्षा सञ्चालन गरेको हो ।

‘सरकारले दिएको निर्देशनअनुसार सामाजिक दुरी कायम गरेर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरिएको छ, हरेक कक्षा कोठामा स्यानिटाइजर, शिक्षक तथा परीक्षार्थीलाई अनिवार्य मास्क प्रयोग गराइएको छ’, प्रधानाध्यापक तेजनारायण साहले भने–‘कोरोनाको सम्भावित खतरालाई ध्यानमा राखेर विशेष सतर्कता तथा सजगता अपनाइएको छ ।’

दुर्गा भगवती गाउँपालिकाबाट परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड पालनाका विषयमा अनुगमन पनि गरिएको थियो । सरस्वती उच्च माध्यमिक विद्यालय रौतहट जिल्लाकै दोस्रो पुरानो विद्यालय हो । उत्कृष्ट विद्यालयमा पर्ने उक्त विद्यालयमा विद्यार्थी संख्यासमेत अत्यधिक रहेको र स्थानीय विद्यार्थीको आकर्षणसमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्