प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज



काठमाडौं :   प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि ओली कात्तिक १२ गते विहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । ओली पूर्ण स्वास्थ्य लाभ गरेर शुक्रबार साँझ सरकारी निवास वालुवाटार फर्किएका उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई छातिमा संक्रमण तथा शरीरमा चिनीको मात्रा असन्तुलित देखिएपछि अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्यमा पूर्ण सुधार भएपछि निवास फर्कन अनुमति दिएका थिए ।

प्रधानमन्त्री ओलीलाई प्रा.डा.अरुण सायमीको संयोजकत्वमा प्रा‍‍ ‍.डा.दिव्या सिंह शाह र डा.सन्तकुमार दास सम्मिलित समूहले उपचार गरेको थियो । प्रधानमन्त्रीओलीले उपचारमा संलग्न चिकित्सकहरुप्रति विशेष  आभार प्रकट गरेका उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्