युवालार्इ लक्ष्य गरी उपमहानगरले तालिम दिँदै



बुटवल :  बुटवल उपमहानगरपालिकले ‘मेयर युवा इलम’ कार्यक्रमअन्तर्गत करिब चार सय युवालाई लक्ष्य गरी युवा स्वरोजगार तालिम शुरु गरेको छ । पहिलो चरणमा बुटवलका १९ वटै वडाका ३६५ युवालाई इलम सिकाइने छ ।

 

तीनमहिने सीप सकेका युवालाई दक्षताका आधारमा रोजगारादाताको सहकार्यमा रोजगारी दिने गरी यस्तो तालिम शुरु गरिएको उपमहानगरप्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

 

युवालाई हेभी हाइड्रोलिक सिस्टम (स्काभेटर, डोजर, ग्रेडर, रोलर, भाइब्रेटर) का उपकरणको मर्मत गर्नेबारे तालिम दिइने छ । यो कामका लागि पहिलो चरणमा २५ युवा छनोट भएका छन् । उनीहरूले यो चरणमा उजिरसिंह नगरको अटो भिलेजमा तीन महिना सिक्नेछन् ।

 

अटो मेकानिक्सको आधारभूत तालिमका लागि २० युवा छनोट भएका छन् । आधारभूतसहित हेभी साधन बनाउने तालिमले उनीहरूलाई पनि दक्षता र रुचिका आधारमा उपल्लो तहको तालिम दिने गरी तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ । 

जनरल मेकानिक्समा २२, विल्डिङ सोलार इलेक्ट्रिकल तालिमका लागि ३५, होटल म्यानेजमेन्टअन्तर्गत कुक तालिमका लागि ८३, एसी, रेफ्रिजरेटर मर्मतका लागि ५४ तथा पलम्बिङका लागि २० र फेसन डिजाइनरका लागि १०७ जना यो चरणमा छनोट भएका छन् । 

शुरुदेखि नै प्राथमिकता दिँदै आएको युवा स्वरोजगार कार्यक्रम यस क्षेत्रको नमुना कार्यक्रम मानिएको छ । तालिमको बिहीबार शुभारम्भ गर्दै नगरप्रमुख सुवेदीले युवालाई सक्षम बनाए मात्रै समृद्ध बुटवलको अभियान पूरा हुने बताए । 

प्रतिक्रिया दिनुहोस्