सर्लाही अपडेट : कार्यकर्ता हत्याकाे विराेधमाा कांग्रेसले मसाल जुलुस र अामहडताल गर्ने



सर्लाही : नेपाली कांग्रेसले आफ्नो कार्यकर्ता हत्याको विरोधमा शनिबार मसाल जुलुस र आइतबार सर्लाही बन्दको घोषणा गरेको छ ।

 

नेकपा कार्यकर्ताले चलाएको गोली लागेर अाफ्ना कार्यकर्ता रामविलास महताको मृत्यु भएको भन्दै सर्लाही कांग्रेसले आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आमहडतालको घोषणा गरेको हो ।

 

शुक्रबार बसेको कांग्रेस सर्लाहीको बैठकले शनिबार साँझ जिल्लाभरका सम्पूर्ण स्थानीय तहका सबै वडामा मसाल जुलुस प्रर्दशनको निर्णय गरेको र आइतबार आमहडताल गर्ने सर्लाहीबाट निर्वाचित सांसद अमरेशकुमार सिंहले जानकारी दिए ।

 

यसैगरी आमहडतालकै क्रममा आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म पूर्वपश्चिम राजमार्गको लालबन्दीमा एक घण्टा चक्का जाम गर्ने निर्णयसमेत भएको उनले बताए । उनले आन्दोलनका थप कार्यक्रमबारे आइतबार साँझ निर्णय गरिने जानकारी दिए ।

 

रामविलासमाथि गोली प्रहार गर्ने व्यक्तिको पहिचान भइसक्दासमेत प्रहरीले कुनै कारवाही गर्न नसकेपछि बाध्य भएर आमहड्तालको घोषणा गर्नुपरेको सांसद सिंहको भनाइ छ । 

 

कांग्रेसले मृतक रामविलासलाई सहिद घोषणा, मृतक परिवारलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार र दोषीमाथि कारवाहीको माग अघि सारेको छ ।

 

मंगलबार बिहान नेकपा कार्यकर्तासँगको झडपमा गोली लागी रामविलास महतोको मृत्यु भएको थियो भने गोलीको छर्रा लागेर अन्य चार जना घाइते छन् । सरकारले माग सम्बोधन नगरेको भन्दै कांग्रेसले रामविलासको शव बुझ्न मानेको छैन । उनको शव अझै मलंगवा अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्