महिला आयोगमा उजुरी बढ्दै



 

काठमाडौँ: अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राष्ट्रिय महिला आयोगमा दर्ता हुने उजुरीमा करीब ५०० ले वृद्धि भएको छ । आयोगले शुक्रबार यहाँ आयोजना गरेको सञ्चारमाध्यमसँगको अन्तरक्रिया कार्यक्रममा प्रतिवेदनमार्फत आयोगले उक्त जानकारी गराएको हो । 

आर्थिक वर्ष २०७३/७४ मा ३४१ महिलासम्बन्धी घटनाको दर्ता भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा भने आठ ८३८ महिलासम्बन्धी घटना दर्ता भएको प्रतिवेदनमा उल्लेख छ । 

आयोगका सचिव अनिलकुमार झाका अनुसार गत आर्थिक वर्षदेखि आयोगले हेल्पलाइन शुरु गरेपछि घटना दर्ता बढी हुन थालेको हो । दर्ता हुने घटनामा सबैभन्दा बढी टेलिफोन र हेल्पलाइनबाट घटना दर्ता हुने गरेको पनि सचिव झाले जानकारी दिए । 

गत वर्ष दर्ता भएको जम्मा घटनामध्ये सबैभन्दा बढी मानसिक तथा शारीरिक हिंसाका कारण घटेका घरेलु हिंसाका दर्ता भएका छन् । गत आवमा आयोगमा परेको उजुरीको घटनामम्धे २१५ कानूनी कारवाहीको लागि सम्बन्धित निकायमा सिफारिश गरिएको छ ।

 

त्यसैगरी १६६ घटनाको लागि मनोसामाजिक परामर्शका लागि सिफारिश गरिएको छ । १३४ कारवाहीको लागि पत्राचार गरिएको छ, ८३ घटनामा मिलापत्र सिफारिश गरिएको र ४७ घटना सेल्टरको लागि सिफारिश गरिएको बताइएको छ । 

हाल आयोगमा आउने उजुरीमा सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट हिंसाका घटना दर्ता हुने गरेको छ । पहिलेको भन्दा पछिल्लो समय हिंसाको स्वरुपमा परिवर्तन पनि भएको छ । अहिले हाडनाता करणी, सामूहिक बलात्कार, यौन व्यापारका लागि विभिन्न देशमा मानव तस्करी, विदेशी नागरिकबाट बालयौन शोषण र बोक्सीको आरोपमा मानसिक र शारीरिक यातनाजस्ता घटना दर्ताका लागि आउने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्