भारतले लिपुलेकमा बनाईरहेको सडक रोक्न एमालेको माग



काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारतद्वारा नेपालमाथि हुने सबैखाले बलमिच्याई रोक्न माग गरेको छ । लिपुलेकमा भारतीय पक्षले सडक निर्माण गरिरहेको प्रति आपत्ति जनाउँदै यस्तो माग गरेको हो । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले आज विज्ञप्ति जारी गर्दै नेपाली भू-भाग (लिपुलेक, लिम्पियाधुरा) मा सडक लगायतका संरचना निर्माणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

भट्टराईले उक्त विषयमा भारतसंग त्काल गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याई रोक्न लगाउन र नेपाली भू-भागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसंग माग गरेका छन् । साथै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्ने पनि भट्टराईद्वारा जारी वक्तव्यमा भनिएको छ ।

सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ, भट्टराईद्वारा जारी वक्तव्यमा भनिएको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भू-भागका रुपमा रहेका र गत वर्ष नै राजनीतिक-प्रशासनिक नक्सा एवं संविधान संशोधनमार्फत् नेपालले यस विषयमा आफ्नो कानुनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको तथ्य सर्वविदितै रहेको वक्तव्यमा उल्लेख गरिएको छ ।  राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारले सन्देहास्पद मौनता साधेको भन्दै एमालेले सरकारको मौनाताले अनेकौं प्रश्न जन्माएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्