चीनमा शंकास्पद कोभिड संक्रमितलाई टिनका बाकसभित्र



एजेन्सी : चीनमा शंकास्पद कोभिड संक्रमितलाई टिनका बाकसभित्र राखेको पाइएको छ । शंकास्पद संक्रमितलाई मध्यरातमा घरबाट निकालेर बसमा कोचेर टिनका बाकसभित्र राखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका छन् । कोभिडविरुद्ध शून्य सहनशिलता अप्नाएको चीनको पछिल्लो कदमलाई कतिपयले आलोचनासमेत गरेका छन् ।

हिउँदे ओलम्पिक नजिकिँदै जाँदा जिरो कोभिड पोलिसीअन्तर्गत सरकारले कठोर नियम बसालेको छ । जसका कारण अहिले लाखौं शंकास्पदलाई क्वारेन्टिनमा राखिएको छ । काठका बेड रहेका यी टिनका बाकसभित्र शौचालयको पनि व्यवस्था छ । शंकास्पद व्यक्तिलाई कम्तिमा एक सातादेखि बढीमा दुई साताभित्र यस्ता बाकसभित्र राखिएको छ ।

प्रहरीले रातरात मानिसहरुलाई घरबाट उठाएर यस्ता क्वारेन्टिन स्थलमा लैजाने गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । चीनमा पछिल्लो समयमा ट्रयाक र ट्रेस एपमार्फत शंकास्पद संक्रमितको पहिचान गरी उनीहरुलाई चाँडोभन्दा चाँडो क्वारेन्टिन स्थलमा लगिएको छ । चीनमा करिव २ करोड मानिसहरु घरभित्रै क्वारेन्टिनमा बसेका छन् । उनीहरुलाई दैनिक उपभोग्य सामाग्री किन्न बाहिर जानसमेत प्रतिबन्ध लगाइएको छ ।

लकडाउनका कारण अस्पताल जान नपाउँदा गत साता एक गर्भवती महिलाको शिशु खेरा गएको थियो । सो घटनापछि केही मानिसहरुले सरकारले अप्नाउँदै आएको कोभिडविरुद्ध शून्य सहनशिलताको विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्