गुल्मी कांग्रेसको ‘सवल वडा सक्षम टोल’ अभियान



गुल्मी : नेपाली कांग्रेस गुल्मी गाउँ केन्द्रित अभियानमा जुटेको छ । सभापति खिलध्वज पन्थी नेतृत्वको कांग्रेसले नयाँ सोच, पद्धति र कार्यसम्पादनमा जोड दिएको छ ।

अभियानअन्तर्गत पहिलो कार्यक्रम गत २७ पुसमा ‘गुल्मी कांग्रेसको अठोट :  सवल वडा सक्षम टोल’ अभियान ९३ वटै वडामा सकिएको छ । बिहीबार कांग्रेस पार्टी कार्यालयमा पत्रकार भेटघाट गर्दै सभापति खिलध्वज पन्थीले काग्रेसका विचार र अभियानका बारेमा जानकारी दिए।

उनले विधि र विधान पार्टीको प्राण भएकाले पहिलो काम पार्टी भित्रका पुराना सोच, पद्धति र क्रियाकलापलाई परिस्कृत गर्ने भएको बताए । त्यसका लागि नियमित बैठक, टोल समिति, भातृ सस्थाहरूको गठन र कार्यालय स्थापनासँगै प्रविधिमैत्री कांग्रेस बनाउने योजना रहेको पन्थीले बताए ।

उनले पार्टी, नेता र कार्यकर्ता निर्वाचन र अधिवेशनमा मात्र जागेर नपुग्ने भएकाले कांग्रेसले त्यसबाट हुने क्षतिको महसुस गरेर टोल र वडालाई सवल र सक्षम बनाउने अभियान थालेको बताए । ‘टोल र वडा पार्टीका आधार हुन् । त्यही ठाउँमा पुगेर नागरिकका मसिना काममा केन्द्रित हुन्छौँ,’ उनले भने,‘ ठुला आमसभाभन्दा टोल भेलामा जोड दिएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्