धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले दिए आवेदन



काठमाडौँ : धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाले आवेदन दिएका छन् । यसअघि बीमा समितिका अध्यक्ष रहिसकेका चिरञ्जीवी चापागाईँ र रमेश कुमार हमालसहित १५ जनाले आवेदन दिएका हुन् ।

नेपाल धितोपत्र बोर्डले नयाँ सूचना जारी गरेर यही पुस १५ गते पुनः आवेदन आह्वान गरेको थियो । आवेदकले यही पुस २९ गतेभित्र आवेदन दिनुपर्ने थियो। यसअघि गठित समितिले २०७८ कात्तिक ११ मा अध्यक्षका लागि आवेदन मागेको थियो ।

छनोट समितिका एक सदस्य परिवर्तन भएपछि पुन आह्वान गरिएको थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललेको संयोजकत्वमा गठित समितिले सेबोन अध्यक्षका लागि पुनः आवेदन माग गरेको हो । सिफारिस समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र विज्ञ सदस्यमा जीवनाथ धिताल रहेका छन्। यसअघि विज्ञ सदस्यमा नारायण प्रसाद पौडेल रहेका थिए । उनलाई हटाएर मन्त्रीपरिषद्को बैठकले धिताललाई ल्याएको हो ।

आवेदन दिनेहरुमा डा गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरञ्जीवी चापागाई, डा नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने रहेका छन् । त्यस्तै कृष्णराज पोखरेल, डा जीवन अंगाई, रमेश कुमार हमाल, सीताराम थपलिया, डा केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरी र हेमन्त बस्यालले आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्