ए डिभिजन लिगमा आजदेखि नवौं चरणका खेल सुरु हुँदै



काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिगमा आज (शुक्रबार) बाट नवौं चरणका खेल हुँदै छन् । पहिलो दिन आज दशरथ रंगशालामा दुई खेल हुनेछन् । पहिलो खेलमा एपीएफले हिमालयन शेर्पाको सामना गर्नेछ। यी दुई टोली बीचको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ।

एपीएफको आठ खेलबाट सात अंक छ र दसौं स्थानमा छ । हिमालयनको भने आठ खेलबाट ११ अंक छैटौं स्थानमा छ । अहिलेसम्म यी दुई क्लबीच लिगमा पाँच खेल भएकोमा दुईमा एपीएफ र एकमा हिमालयन विजयी रहेको छ । बाँकी दुई खेल बराबरीमा टुंगेको छ । दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र सातदोबाटो भिडने छन् । मनाङ र सातदोबाटो बीचको खेल ४:४५ बजे सुरु हुनेछ । मनाङ १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । सातदोबाटोलाई हराएर मनाङ शीर्ष स्थानमा उक्लन चाहन्छ । सातदोबाटो ९ अंक जोडेर आठौं स्थानमा रहेको छ।

मनाङलाई हराएर सातदोबाटो अंक तालिका सुधार्न चाहन्छ । कोरोना भाइरसको बढ्दो संक्रमणसँगै लिगमा उपस्थित दर्शकलाई पनि स्वास्थ्य सावधानीका लागि बलियो मापदण्ड तय गरिने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। लिग हेर्न रंगशालामा उपस्थित दर्शकलाई अब अनिवार्य कोरोना भाइरसविरुद्ध खोप लगाएको कार्ड देखाउनु पर्ने प्रावधान राखिएको लिगका निर्देशक सन्जीव मिश्रले बताए।

दर्शकले अब टिकट लिँदा नै अनिवार्य खोप लगाएको कार्ड देखाउनुपर्ने उनको भनाइ छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)को मंगलबार बसेको बैठकले रंगशाला प्रवेशका लागि कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरेको छ।

प्रतिक्रिया दिनुहोस्