राष्ट्रपतिले बाँडेको पदकप्रति कांग्रेसको आपत्ति, लिएको पदक फिर्ता गर्न निर्देशन



काठमाठौं : राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा संविधानसभाका सभासद्लाई बाँडिएको पदकप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । गत बिहीबार राष्ट्रपति भण्डारीले संविधानसभाका सभासद्लाई बाँडिएको पदकमा सूर्य भएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । 

कांग्रेसले संविधान जारी गरेकोमा स्याबासी दिन पदक दिने काम नै गलत भएको बताएको छ । यद्यपी कांग्रेसभित्र पदक लिएकोले फिर्ता गर्नुपर्ने पनि आवाज उठेको छ । 

कांग्रेस सांसद मीनेन्द्र रिजालले मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै संविधान निर्माता (सभासद) लाई चिनारी (पदक) वितरण गर्ने शैलीमाथि पनि प्रश्न उठाउँदै संविधान निर्मातालाई चिनारी पदक वितरण गर्ने सुशोभनको शैली स्याबासी दिनेजस्तो भयो। 

उने भने, ‘पदक वितरण चित्त बुझेन। अझ पदकमा संविधानलाई आड दिने गरी कुदिँएका रेखाहरूको कलात्मक प्रस्तुतिले संविधान निर्माण र स्वामित्वबारे अन्यथा सन्देश दियो । सुशोभनको शैली र पदकको डिजाइनले संविधान निर्माणका लागि भएको बलिदानीपूर्ण संघर्ष संविधानको मर्मभावना र उत्तराधिकारलाई परिलक्षित गर्न सकेन भन्ने जनगुनासो छ। सम्बन्धित सबैको ध्यान आकृष्ट गर्न चाहन्छु।’

पदकभित्र सूर्य चिन्ह राखिएकोमा कांग्रेसले आपत्ति जनाएको जनाएको बताउँदै उनले भने, ‘पदकभित्र प्रष्ट देखिने गरी सूर्यको चिन्ह राखिएको छ। एउटा पार्टीले संविधानलाई मोनोपोलाइज गर्न पाइन्छ? आफूले मात्रै संविधान ल्याएको जस्तो गर्ने?’

पदकभित्र सूर्य चिन्ह भएकोबारे कांग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी गराएको बताउँदै उनले भने, ‘कांग्रेस भित्र यदि कसैले लिएको छन् भने फिर्ता गर्नुपर्छ । कांग्रेसले उक्त पदक लिन मिल्दैन ।’ 

 

प्रतिक्रिया दिनुहोस्