निर्वाचन आयोगमा सर्वदलीय बैठक जारी : विभिन्न दलका नेताहरु सहभागी



काठमाडौँ : निर्वाचन आयोगमा सर्वदलीय बैठक जारी छ । स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ । आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचन, स्थानीय तहको निर्वाचन तयारी र मतदाता नामावली अद्यावधिकको विषयमा छलफल गर्न आज संघीय संसद र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दललाई बोलाएको हो ।

बैठकमा नेकपा एमालेबाट उपमहासचिव विष्णु रिमाल, नेपाली कांग्रेसबाट रमेश लेखक र माओवादी केन्द्रबाट लीलामणि पोखरेल, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल लगायतका नेताहरु उपस्थित भएका छन् ।

निर्वाचन आयोग जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा जुटिरहेको छ। आयोगले आगामी २०७९ वैशाख महिनामा स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रस्ताव गरेपनि घोषणा हुन भने बाँकी रहेको छ। राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुँदैछ ।

स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको समयमा निर्वाचन गर्न आयोग गम्भीर रहेको बताउँदै आएको छ। एमालेले गठबन्धनले चुनाव सार्न खोजेको आरोप लगाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्