धुमधामका साथ मनाइयो सुदूरपश्चिममा ‘इद–उल–फित्र’



कैलाली : मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद–उल–फित्र आज (बुधबार) धनगढीमा धुमधामका साथ मनाएका छन् । धनगढी लगायत सुदूरपश्चिमका विभिन्न स्थानका मस्जिदमा बिहान ८ बजेदेखि मुस्लिम समुदायको भिडभाड लागेको थियो । एक महिनादेखि चल्दै आएको पवित्र पर्वको अन्तिम दिन आज बिहानको सामूहिक नमाज पढेपछि आपसमा खुशीयाली साटासाट गर्दै यो पर्व मनाइने गरिन्छ ।  

सुदूरपश्चिम मुस्लीम समाजका अध्यक्ष सेद मुनिर अहमदले पौने ९ बजेदेखि आधा जति सामूहिक नमाज पढेर यो पर्वको समाप्तिसँगै हर्षोल्लास पूर्वक यो पर्व मनाउन लागिएको जानकारी दिए । उनले मोहम्मद पैगम्बरको आर्शिबादले नेकी र धार्मिक विश्वासका साथ यो पर्व मनाउने गरिएको बताए ।

सानादेखि ठूलो सबै बिहानै सफासुग्घर भई नयाँ कपडा लगाएर नमाज पढ्न पुगेका थिए । सबैले धार्मिक विधिपुर्वक नमाज पढे । नमाजपछि सबैजना अंगालोमा बाँधिएर गला मिलाउँदै खुशी साटासाट गरेका थिए । 

गरिब विपन्नलाई दान गरे । शुभकामना आदानप्रदान गर्न विभिन्न व्यक्तीहरु धनगढी उपमहानगर वडा नम्बर १ स्थित इदगाहमै पुगेका थिए । यसले परिवार, समाज र राष्ट्रसँगै विश्वलाई शान्ति र भलाइको मार्गमा डोर्याउने तथा एक आपसमा प्रेम सद्भाव बढाउने जनविश्वास छ । 

हरेक वर्ष वैशाख–जेठमा पर्ने यस पर्वमा बिहान ४ बजेभन्दा अगावै शेहरी खाएर दिनभर रोजा बसिन्छ । साँझ सूर्य अस्ताउने समयमा इफतारी खोलेर रातभरी अन्न तथा पानी खान सकिन्छ । धनगढीका मोहम्मद स्माइल कुरैसीले यस कठोर पर्वमा रोजा बसेको बेला थुक निल्न सकिने तर पानी र अन्न खाए रोजा टुट्ने बताए । 

 

प्रतिक्रिया दिनुहोस्