नेपाली भूमि नमिचेको चीनको दाबी



काठमाडौँ : चीनले नेपाली भूमि नमिचेको दोहर्याएको छ । चीनले नेपालको भूमि अतिक्रमण गरेको, नाकाबन्दी गरेको, नेपाली विद्यार्थीलाई चीन फर्किन नदिएको र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भनि पछिल्लो समय विरोध प्रदर्शन भइरहेका बेला चीनले भने भूमि अतिक्रमण नगरेको दोहोर्‍याएको हो ।

नेपालस्थित चीनियाँ दूतावासका प्रवक्ताले बिहीबार चीनने नेपाली भूमि नमिचेको दोहर्याउदै नेपाली नागरिक यो  भ्रमबाट मुक्त हुनुपर्ने टिप्पणी गरेका छन् । नेपाल र चीन परम्परागत मित्र रहेको र सन् १९६० को दशकदेखि नै सीमासम्बन्धी विषयलाई मैत्रीपूर्ण छलफलमार्फत् सम्बोधन गर्दै आएको पनि उनले प्रस्ट पारेका छन् ।

कोरोना महामारी सुरु भएदेखि नै आफूहरूले नेपालाई खोप, लिक्विड अक्सिजनसहितका स्वास्थ्य सामग्री प्रदान गर्दै आएको पनि दूतावासको भनाइ छ । चीनले नेपाललाई बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को महत्वपूर्ण साझेदार मान्ने र नेपाललाई प्रदान गर्ने सहायतामा कुनै राजनीतिक शर्त नजोड्ने गरेको पनि दूतावासले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्