कृषि औजारसहित सीके राउत नेतृत्वको जनमत पार्टीले गर्यो प्रदर्शन



भैरहवा : रुपन्देहीको भैरहवामा सीके राउत नेतृत्वको जनमत पार्टीले कृषि औजारसहित प्रदर्शन गरेको छ । जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा किसानको माग सम्बोधन गर्न माग गर्दै जनमत पार्टीका नेता कार्यकर्ता र किसानले कृषि औजारसहित प्रदर्शन गरेका हुन् ।

कृषि औजार कोदालो, फरुवा, हलोलगायतका समाग्री बोकेर र्यालीसहित भैरहवाको बुद्धचोक हुँदै नगरको विभिन्न क्षेत्रमा परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेका जनतम पार्टीका नेताहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन, समयमा मल र बिउको व्यवस्था तथा फसलको उचित समर्थन मूल्य माग गर्दै जनमत पार्टीले तराईका विभिन्न जिल्लामा आन्दोलन गर्दै आएको छ ।

तीन सप्ताहदेखि आन्दोलित किसानको जायज मागहरूलाई सरकारले हालसम्म पनि पूर्ण रूपमा बेवास्ता गरिराखेको र उल्टै किसान आन्दोलनमाथि दमन गर्न व्यापक बल प्रयोग गरेकाले आन्दोलनका कार्यक्रम तय गरिएको जनमत पार्टीका केन्द्रिय सचिव भुपेन्द्र यादवले बताए ।

Avatar

प्रतिक्रिया दिनुहोस्