नेपाल एयरलाइन्सद्वारा जापान उडान स्थगित



काठमाडौं : यात्रु नपाएको भन्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तत्कालका लगि जापान उडान स्थगित गरेको छ। कम्पनीले उडान सुरू गर्ने नयाँ मिति पनि तय गरेको छैन्। १२ वर्षपछि जापानमा यही असार १९ गतेदेखि उडान गर्ने अन्तिम तयारी भए पनि यात्रु नपाएको भन्दै उडान तत्कालका लागि स्थगित गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ।

आगामी जुलाई ४ अर्थात् असार १९ बाट ओशाकाको कान्साइ अन्तर्राष्ट्रिय एयरपोर्टमा निगमको वाइडबडीले उडान भर्ने तालिका थियो। तर, बुकिङ खोलेको एक महिनासम्म पनि राम्रो संख्यामा यात्रु नपाएपछि तत्काल जापानमा उडान स्थगित गरिएको हो। नेपाल एअरलाइन्सले काठमाण्डौ–ओसाकाको एकतर्फी भाडा ४५ हजार र दुईतर्फी भाडा ७७ हजार रुपैयाँ तोकेको छ।

‘जापानमा विद्यार्थी जाने सिजन जुन महिनामै सकिएको छ। साथै नेपाल आएका जापानीज पर्यटक पनि लगभग फर्किसकेका छन्,’ निगममा प्रवक्ता नवराज कोइरालाले भने,‘यसै कारण टिकटको बुकिङ राम्रो आएन।’ उनले अगस्टको अन्तिम र वा सेप्टेम्बर महिनाबाट भने जापानमा उडान थाल्नेबारे छलफल भइरहेको बताए।

नेपाल एयरलाइन्सले जापानको नारिता विमानस्थलमा उडान थाल्ने गरी प्रक्रिया अघि बढाइरहेकाले सेप्टेम्बरसम्म सबै विषय टुंगो लाग्ने कोइरालाले बताए। सन् १९९४ देखि २००७ सम्म निगमले जापानमा उडान गरिरहेको थियो। तर, विमान संख्या कम भएपछि उडान बन्द भएको थियो।

१२ वर्षपछि उडान थाल्न लाग्दा निगमले यात्रु नै नपाउने अवस्था आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका एक अधिकारी जापान जस्तो गन्तब्यमा पनि यात्रु नपाएको भन्दै उडान स्थगित गर्नुपर्ने अवस्था लाजमर्दो भएको बताए। जापानले हप्ताको ३ वटा राउन्ड ट्रिप उडानका लागि नेपाल एयरलाइन्सलाई अनुमति दिएको छ।

प्रतिक्रिया दिनुहोस्