चितवन राइनोज पिपिएलको प्लेअफमा, धनगढी प्रतियोगिताबाट बाहिरियो



काठमाडौं : विराटनगर टाइटन्सलाई रोमाञ्चक खेलमा ४ विकेटले पराजित गर्दै चितवन राइनोज पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ। पोखरा पल्टन र काठमाडौं रोयल्स यसअघिनै प्लेअफमा प्रवेश गरिसकेका छन्। याेसँगै पाेखरा पल्टन शीर्ष स्थानमा रहँदै पिपिएलकाे फाइनलमा प्रवेश गरेकाे छ।

 

चितवनले विराटनगरलाई पराजित गरेसँगै धनगढी ब्लुजपनि प्रतियोगिताबाट बाहिरिएको छ। प्लेअफमा पुग्ने तीनै टोलीको समान ६ अंक भएको छ। विराटनगरले चितवनलाई पराजित गरेको भए चितवन बाहिरिने थियो भने धनगढीले प्लेअफमा स्थान बनाउने थियो। समान ६ अंक भएपनि नेट रन रेटका आधारमा धनगढीलाई पछि पार्दै चितवनले प्लेअफमा स्थान बनाएको हो।

 

चितवनसँग पराजित विराटनगरले ५ खेलमा १ जित र ४ मा हार ब्यहोर्दै पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ। विराटनगरले बुटवल ब्लास्टर्सलाई मात्र पराजित गर्यो। विराटनगर यसअघिनै प्रतियोगिताबाट बाहिरिसकेको थियो। योसँगै समूह चरणका सबै खेल सकिएका छन्। पोखरा पल्टन, काठमाडौं रोयल्स र चितवन राइनोज प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्दा धनगढी ब्लुज, बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स भने बाहिरिएका छन्।

 

पोखरा रंगशालामा विराटनगरले दिएको १ सय ४६ रनको लक्ष्य चितवनले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। चितवनको जितमा सन्नी पटेल नायक बने। लगातार विकेट गुमाइरहेको अवस्थामा पटेलले सम्हालिएर ब्याटिङ गर्दै नटआउट ५१ रनको सर्वाधिक रनको पारी खेले। उनले २४ बलको सामना गर्दै ४ चौंका र ४ छक्का प्रहार गरे। अन्तिम २ ओभरमा जितका लागि २६ रन भएपनि पटेल र सोनु तामाङको जोडियो उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई सहज जित दिलाए।

 

विराटनगर कप्तान सन्दीप लामिछानेले १९ औं ओभरमा १८ रन दिएपछि चितवनलाई अन्तिम ओभरमा जितका लागि ८ रन आवश्यक परेको थियो।  १९.१ ओभरमा सोनुले १ रन दिँदै पटेललाई क्रिजमा ब्याटिङ गर्न पठाए। पटेलले १९.२ र १९.३ ओभरमा लगातार २ चौंका प्रहार गर्दै टोलीलाई प्लेअफमा पुर्याए। चितवनका लागि आरिफ शेखले ३९ बलमा ३५, सुमित पटेलले २५ बलमा २१, अनिलकुमार शाहले १२ बलमा १३ र सोनु तामाङले १० बलमा नटआउट ११ रनको योगदान दिए।

 

विराटनगरका लागि सन्दीप लामिछानेले ४ विकेट लिएपनि टोलीको हार टार्न सकेनन्। सन्दीपले ४ ओभर बलिङ गर्दै १ मेडन राखेर २५ रन खर्चिए। त्यस्तै सुनिल धमला र सहाब आलमले १–१ विकेट लिए।

 

यसअघि  टस जितेर पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेटको क्षतिमा १४५ रन बनाएपछि चितवनले १४६ रनको लक्ष्य पाएको थियो।

 

विराटनगरका लागि ओपनर मोहम्मद जैद आलम र सुनिल धमलाले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो विकेटका रुपमा ८७ रनको साझेदारी गरे। आलम पहिलो विकेटका रुपमा अर्धशतक प्रहार गर्दै आउट भए। उनले ४७ बलमा ६ चौंका र २ छक्का प्रहार गर्दै ५१ रनको योगदान दिए। सुनिल धमलाले ४७ रन बनाए। अर्धशतक बनाउनबाट ३ रनले चुकेका धमलाले ४५ बलमा ७ चौंका प्रहार गरे।

 

त्यस्तै प्रदिप ऐरी र पुष्प थापाले समान ११–११ रनको योगदान दिए। अन्य ३ जना खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। चितवनका लागि सुमित पटेल र कप्तान पारस खड्काले २–२ तथा करण केसीले एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्