सरकारले कला क्षेत्रमा चाहेर पनि लगानी गर्न सकेन : मन्त्री ज्ञवाली



काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कला क्षेत्रमा चाहेर पनि लगानी गर्न नसकेको बताएका छन्। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले बुधबार आयोजना गरेको ललितकला प्रदर्शनी २०७६ को समापन कार्यक्रममा मन्त्री ज्ञवालीले शिक्षा र स्वास्थ्यका क्षेत्रमा बढी लगानी गर्नुपर्ने भएकाले अन्य क्षेत्रमा तत्काल चासो दिन नसकेको बताए।

‘कलालाई विकास गर्ने विषयमा सरकार सजग छ’, उनले भने, ‘नकारात्मकतालाई सकारात्मक बनाउने काम कलाले गर्नुपर्छ।’ उनका अनुसार अब सरकारले तीनै वटा प्रतिष्ठानका विषयमा सरकारले उचित निर्णय लिनेछ। नाफाका कुलपति केके कर्माचार्यले प्रतिष्ठानको आफ्नै भवन नभएकाले भाडाको ठाउँमा प्रदर्शनी गर्नुपरेको बताए।

‘प्रतिष्ठानका विषयमा सरकारले अलिकति पनि चासो दिएको छैन’, उनले दुखेसो पोखे। नाफाका पूर्वकुलपति रागिनी उपाध्यायले नेपाली चित्रकलाले विश्वस्तरमा प्रतिष्पर्धा गर्न सक्ने भन्दै सरकारले चित्रकलामार्फत पर्यटक भित्र्याउन सक्नुपर्नेमा जोड दिइन। यही जेठ २ गतेदेखि सुरु भएको प्रदर्शनीमा ५१५ वटा चित्र तथा मूर्ति प्रदर्शनीमा राखिएका थिए जसमा ५० विद्यालयका विद्यार्थी पनि सहभागी थिए।

प्रदर्शनीमा यथार्थवादी चित्रकला, परम्परागत चित्रकला, अमूर्त चित्र, साङ्केतिक चित्रकला आदि प्रदर्शनीमा राखिएका थिए जसमा सातवटै प्रदेशका कलाकारले सहभागिता जनाएका थिए। प्रदर्शनीमा १० हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गरेका थिए। प्रदेशस्तरीय चित्रकलालाई छुट्टाछुट्टै राख्नुपर्ने सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस्