उत्तेजना बढाउने औषधी बिक्री गर्ने दुई औषधी पसलमा शिलबन्दी



कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेका दुई वटा औषधी पसलमा शिलबन्दी गरिएको छ । झलारी बजारको पिपलाडी रोडमा रहेको अशोक क्लिनिक र मेनरोड झलारीमा रहेको शुभम बासुलिङग एग्रोभेटमा मंगलबार शिलबन्दी गरिएको हो । 

औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जको टोलीले नियमविपरीत सञ्चालन भएको पाएपछि शिलबन्दी गरेको हो । अशोक क्लिनिक दर्ता नभई सञ्चालन भएको टोलीले जनाएको छ । 

उक्त क्लिनिकमा मापदण्डविपरीतका औषधी बिक्री गर्दै आएको, यौन उत्तेजना जगाउने, गर्भपतन गराउने औषधी पनि बिक्रीका लागि राखेको अनुगनका क्रममा पाइएपछि शिलबन्दी गरिएको विभाग शाखा कार्यालयका फार्मेसी अधिकृत विजय कार्कीले बताए ।

सुभम बासुलिङ एग्रोभेटको दर्ता प्रमाणपत्र स्पष्ट नदेखिएको र कैलालीको अत्तरियामा सञ्चालन गर्ने अनुमति पाएको भए पनि ठाउँ सारी नगरी झलारीमा सञ्चालन भइरहेको बताइएको छ । उक्त मेडिकलमा पनि अवैध र म्याद गुज्रेका औषधी समेत फेला परेका टोलीले जनाएको छ । दुवै सञ्चालकलाई १५ दिनभित्र दर्ता गर्न निर्देशन दिइएको छ । 

अवैध र म्याद गुज्रिएको औषधी बिक्रीबारे अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाइने कार्यालयले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्