ए डिभिजन लिग : रेलिगेसनको दबाब झेलिरहेको फ्रेन्ड्समाथि आर्मीको सहज जित



काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन जोनमा रहेको फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मीले फ्रेन्ड्सलाई ३-१ गोलले पराजित गरेको हो। आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक/एक गोल गरे। फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए।

फ्रेन्ड्सविरूद्व आक्रामक खेल खेलेको आर्मीले पहिलो हाफमै २ गोलको आरमदायी अग्रता बनाएको थियो।

खेलको १०औं मिनेटमा जगजितले गरेको प्रहार फ्रेन्ड्सका गोलरक्षक राहुल रामचन्द्र यादवले ठम्याउन नसक्दा आर्मीले अग्रता बनाएको थियो। पेनाल्टी एरियाको बायाँतर्फबाट जगजितले क्रस गरेको बल पोस्टमा लाग्दै गोल भएको थियो। २२औं मिनेटमा दिनेशको फ्रि-किक क्रस बारमा लागेर फर्किंदा आर्मी अग्रता दोब्बर बनाउन चुकेको थियो।

२५औं मिनेटमा जर्जप्रिन्स कार्कीले करिब २० यार्डबाट गरेको प्रहारलाई फ्रेन्ड्सका गोलरक्षक राहुलले सहजै जोगाए।

त्यसको एक मिनेटपछि नै फ्रेन्ड्सले खेलमा फर्किने मौका गुमायो। डिबक्सभित्र कप्तान प्रिजेन तामाङले दुई डिफेन्डरलाई बिट गरेर प्रहार गरेको बल दिशाविहीन भयो।

३०औं मिनेटमा फ्रेन्ड्सका जोमौल एन्टोनीले बक्सबाहिरबाट गरेको सशक्त प्रहार बार नजिकैबाट बाहिरियो। त्यसको ४ मिनेटपछि श्यामबाबु क्याप्छाकीको क्रसमा रोनेल एन्टोनी पलले करिब ६ यार्ड बक्सबाट गरेको हेडर आर्मीका गोलकिपर विकेश कुथुले क्लियर गरे। सोही रिबाउन्डमा जोमौल एन्थोनीले गरेको प्रहार पुनः विकेशले विफल पार्दा एकपटक पुन: फ्रेन्ड्स खेलमा फर्किन चुक्यो।

३८औं मिनेटमा दिनेशले करिब २० यार्डबाट गरेको प्रहार डिफ्लेक्ट हुँदै बाहिरिँदा आर्मीले अग्रता दोब्बर बनाउने मौका गुमायो। तर, ४५औं मिनेटमा दिनेशले नै आर्मीको अग्रता दोब्बर बनाए। दायाँतर्फबाट जर्जप्रिन्सले हेडरमार्फत् उपलब्ध गराएको बललाई ‘अनमार्क’मा रहेका दिनेशले ‘वान टच’ गोल गरे।

पहिलो हाफमै दुई गोलको अग्रता बनाउँदै जिततर्फ अग्रसर भएको आर्मीले दोस्रो हाफमा भने फितलो खेल प्रदर्शन गर्‍यो। एक गोल थप गरेको आर्मीले कमजोर डिफेन्सका कारण एक गोल खाएको थियो।

दोस्रो हाफको सुरुआतमै फ्रेन्ड्सका जोमौल एन्थोनीले गोल गरे। जोमौलले करिब २० यार्डबाट कप्तान प्रिजेनले उपलब्ध गराएको क्रसलाई पोस्टको दिशा दिलाए।

तर, ७०औं मिनेटमा जगजितले प्रहार गरेको कर्नरमा हेडरमार्फत् सुमनले गोल गरेपछि आर्मीले ३-१ को जित निश्चित गर्‍यो। जगजितको कर्नरमा ‘अनमार्क’ रहेका सुमनले हेडर गर्दा फ्रेन्ड्सका गोलरक्षक राहुलले बचाउने मौका पाएनन्।

७८औं मिनेटमा फ्रेन्ड्सका सुरज विकको हेडर आर्मीका गोलकिपर विकेशले उत्कृष्ट बचाउ गरे। त्यसपछि दुवै टोलीबाट गोल नहुँदा आर्मीले सहज जित निकाल्यो।

जितसँगै ९ खेलबाट १७ अंक जोडेको आर्मी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

लिगमा समान खेल खेलेको फ्रेन्ड्स तीन अंक जोडेर तालिकाको पुछारमा छ। हारसँगै फ्रेन्ड्समाथि रेलिगेसनको दबाब बढेको छ।

प्रतिक्रिया दिनुहोस्