मेयर चौधरी सहभागी हुने कार्यक्रममा पत्रकार सहभागी नहुने निर्णय



इटहरी : नेपाल पत्रकार महासंघले पत्रकारहरु असुरक्षित भएको निष्कर्ष निकालेको छ । इटहरीका मेयर द्वारिकालाल चौधरीले पत्रकारलाई दिएको धम्कीले पत्रकार असुरक्षित रहेको महासंघले निष्कर्ष निकालेको हो । 

बुधबार बसेको महासंघ सुनसरी शाखाको बैठकले पत्रकार असुरक्षित भएका कारण मेयर सहभागी हुने कुनै पनि कार्यक्रममा पत्रकार सहभागी नहुने निर्णय गरेको छ । साथै उपहानगरपालिकाले गरेको कार्यक्रममा समेत पत्रकार सहभागी नहुने निर्णय महासंघले गरेको छ । 

महासंघ प्रदेश समितिका अध्यक्ष विक्रम लुइटेल र महासचिव विवेक गौतमको उपस्थितिमा सम्पन्न भएको बैठकमा मेयर चौधरीले सार्वजनिक रुपमा माफी नमागेसम्म कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय भएको महासंघ शाखा अध्यक्ष अमर खड्काले बताएका छन् । 

‘नाकको हड्डी भाँचिदिन्छु, एक करोड रुपैयाँमा सुपारी दिएको छु’ मेयर चौधरीले सार्वजनिक रुपमा भनेका छन् । मेयर चौधरीको यस्तो धम्कीका कारण पत्रकार विराट गौतम (अनुपम) विस्थापित हुने अवस्थामा पुगेको भन्दै महासंघले जिल्ला प्रशासन कार्यालय सुनसरीमा सुरक्षासमेत माग गरेको छ । दिउँसो जिल्ला प्रशासन पुगेको महासंघको टोलीले पत्रकार गौतमको सुरक्षा माग गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्