रक्षामन्त्रीको हेलिकोप्टर बसाउन जिल्लास्तरीय क्रिकेट खेल स्थगित



बारा : सत्तारुढ पार्टीको चियापानमा भाग लिन रक्षामन्त्री ईश्वर पोखरेल शनिवार कलैया पुगे, नेपाली सेनाको हेलिकोप्टर चढेर । त्यतिले मात्र पुगेन, जिल्लाका २० विद्यालय सहभागी क्रिकेट प्रतियोगिता स्थागित भयो । 

कलैयाको सिद्देश्वर क्रिकेट मैदानमा हेलिकोप्टर ल्याण्ड गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाराले त्यहाँ जारी जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता स्थगित गर्न लगाएको हो ।

प्रतियोगिता रोक्न लगाएपछि शनिबारका दुई खेल प्रभावित भएको कलैया क्रिकेट क्लबका एक पदाधिकारीले बताए ।

विदा भएकोले शनिवार तीन खेल थिए, दर्शकको भिड थियो । तर, सबैलाई धपाएर खाली बनाएको मैदानमा रक्षामन्त्री ओर्लिए र पार्टीको कार्यक्रममा तीन घन्टा १० मिनेट बिताए । 

रक्षामन्त्रीका कारण दुई खेल रद्द हुँदा आयोजकलाई आर्थिक भार थपिनुका साथै कार्यक्रमको पूर्व निर्धारित तालिका समेत बिग्रीएको छ । साथै, हेलिकोप्टर ल्याण्ड गर्ने क्रममा मैदानको पीच बिग्रिएकाले मर्मत नगरी खेल खेलाउन असम्भव छ । आजको नयाँ पत्रिकामा प्रथम पृष्ठमा यो समाचार छ ।

प्रतिक्रिया दिनुहोस्