स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्न माग



काठमाडौँ : स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्न माग गरिएको छ ।  नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ र जिल्ला समन्वय समिति महासंघले माग तत्काल स्थानीय निर्वाचनको प्रक्रिया सुरू गर्न माग गरेका हुन् । तीनवटै संस्थाका अध्यक्षहरुले संयुक्त वक्तव्य जारी गर्दै संविधानतः निर्वाचित स्थानीय तहहरूको कार्यकाल समाप्त हुँदै गरेको र संविधानले जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेको भन्दै निर्वाचन प्रक्रिया सुरू गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् ।

‘निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमशः २०७९ जेठ ७, असार २१ र असोज ७ गते सकिने भएकाले दोश्रो कार्यकालको लागि तत्काल निर्वाचन प्रक्रिया सुरू गर्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गर्दछौं’, संयुक्त वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड रहेको स्मरण गराउँदै समयमा नै आवधिक निर्वाचन होस् र एकदिन पनि स्थानीय सरकार जनप्रतिनिधिविहीन नहोस् भन्ने चाहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठ, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र र जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलालले हस्ताक्षर गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्