प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम



काठमाडौँ : प्रदेश नम्बर २ को राजधानी जनकपुर पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकले प्रदेशको राजधानी जनकपुरलाई बहुमतले पारित गरेको हो ।

जनकपुर र वीरगञ्ज दुईवटा नाम प्रस्ताव भएकोमा जनकपुरलाई दुई तिहाइ बहुमतले पारित गरेको हो । मतदानमार्फत प्रदेश २ ले राजधानीको नाम टुंगो लगाएको हो । आज भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेपछि प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको छ ।

प्रदेशसभामा भएको निर्वाचनमा जनकपुरको पक्षमा ७८ मत खसेको हो । जुन दुई तिहाइ बहुमत छ । विपक्षमा २६ मत परेको थियो ।
१०४ सदस्यीय प्रदेशसभामा दुई तिहाइ बहुमतका लागि ७० मत आवश्यक पर्छ । दोस्रो पटकको प्रयासमा राजधानी कायम भएको हो । यसअघि ३ चैत २०७६ मा मतदान हुँदा पनि राजधानी तोकिन सकेको थिएन ।

प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ७ वटा प्रस्ताव ल्याएको थियो । पछि त्यसलाई परिमार्जन गरी तीनवटा बनाएको थियो । जसमध्ये जनकपुरमा दुई तिहाइ बहुमत मत प्रकट भएको हो । प्रस्ताव अनुसार अब प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना कायम हुनेछ ।

वीरगञ्ज पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्मको सीमाना र वीरगञ्ज महानगरपालिका भरीलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव पनि आएको थियो ।

यसैबीच जारी प्रदेशसभा बैठकले प्रदेशको नाम टुंगो लगाउने तयारी गरेको छ । यसका लागि मतदान प्रक्रिया सुरु हुँदै छ । प्रदेशको नाममा चारवटा नाम प्रस्ताव भएको छ । जसमा मधेश प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश र मध्य प्रदेश रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्