नीति तथा कार्यक्रमका लागि गाउँपालिकाले माग्याे सुझाव



कैलाली : बझाङको बित्थडचिर गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेट, नीति तथा कार्यक्रम ल्याउन सरोकारवालासंग सुझाव संकलन गरीरहेको छ ।

चालु आर्थिक बर्ष सकिनै लाग्दा गाउँपालिका आफ्नो नयाँ आर्थिक वर्षको कार्यदिशा निर्धारण गर्न सम्बन्धित निकायको राय सुझाव संकलनमा जुटेको छ ।

गाउँपालिकाले ९ वटैै वडामा रहेका शैक्षिक संस्था, राजनीतिक दल, संघ-संस्था, युवा, महिला, दलित, लगायत सरोकारवालाहरुका माग आवश्यकता र समस्याहरु संकलन गरीरहेको हो ।

गाउँपालिकाले सम्बन्धित निकायका माग, आवश्यकता र समस्याहरु पहिचान गरी आर्थिक वर्ष २०७६/७७ को वार्षिक निति, कार्यक्रम बजेट तथा योजना तर्जुमा गर्न जनप्रतिनिधीहरुको टोली टोलटोलमा खटिएको गाउँपालिका प्रवक्ता हर्क धामीले बताए ।

साथैै गाउँपालिकाले स्थानीय प्राकृतिक स्रोत साधनहरुको परिचालन गरी राजश्व क्षमता वृद्धिगर्ने, युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न किसिमका रोजगारीका अवसरहरु सिर्जना गर्न गाउँघरमै गएर सम्बन्धित सरोकारवालासंग अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गरीरहेको छ ।

देशमा संघीयता कार्यान्वयन भएसंगै तीनतहका सरकार मध्ये जनताको सबैभन्दा नजिकको सरकारनै स्थानीय सरकार भएको भन्दै सबैका समस्या र आवश्यकताहरु पहिचानगरी समाधान गर्न लागि परेको गाउँपालिका अध्यक्ष प्रेम बोहराले बताए । उनले गाउँपालिकाले तत्कालै तथा दिर्घकालिन रुपमा प्रतिफल आउने गरि योजना नीति तथा कार्यक्रम ल्याउन लागेको बताए ।

गाउँपालिकाले योजना बैंक निर्माण गर्ने, नयाँ आर्थिक वर्ष अगावै कुनै पनि गैरसरकारी संस्थाले कार्यक्रम स्वीकृत गर्नुपर्ने लगायतको तयारी भैरहेको जानकारी दिए ।

गाउँपालिकाले प्रत्येक टोलमा योजना छनौटको लागी छलफल समेत चलाई रहेको छ । जेठ भित्रै सबै योजना र सुझाव संकलन गरी चाडै नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरीरहेको छ । 

प्रतिक्रिया दिनुहोस्