कांग्रेस निकट गुण्डा नाइके राधे भण्डारी हतियारसहित पक्राउ



धादिङ : प्रहरीको खोजी सुचीमा रहेका गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन् ।

भण्डारी धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ हतियारसहित पक्राउ परेका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए ।

ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीमाथि नै राधेले आक्रमण गरेका थिए भने उनलाई हतियारसहित पक्राउ गरिएको धादिङ प्रहरी स्रोतले जनाएको छ ।

नेपाली कांग्रेस निकट उनी तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका छन् । धादिङमा हुने ठेक्का पट्टा, अबैध बालुवा खानीलगायतको कमिसन राधेले धम्काएर लिने गरेको स्थानीयबासीको भनाई छ ।

दुई वर्ष अगाडि धादिङबेँसीको शान्तबजार चोकमा राधे भण्डारीले दिनेश अधिकारी (चरी) समूहका आयुप तामाङको हात काटिदिएका थिए । २०७० असार २१ गते धादिङबाट राजधानी फर्किने क्रममा चरीलाई ज्यान मार्ने उद्देश्यसहित गोली हानेका राधे त्यसपछि चर्चामा आएका हुन् ।

यो घटना पश्चात राधे पक्राउ परेपनि राजनीतिक दबाबमा डेढ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । 

प्रतिक्रिया दिनुहोस्