के हो ‘अटोसेक्सुआलिटी’ ? एउटी ‘अटोसेक्सुअल’ युवतीको कथा



मैले भनेको सुनेर अरूलाई अचम्म लाग्न सक्छ कि म कुनै केटा वा केटीको साटो सधैँ आफ्नो शरीर हेर्दा आफूप्रति आकर्षित हुन्छु, रोमान्चित हुन्छु। अरू युवती जस्तै मलाई पनि आफ्नो व्यक्तित्व र शारीरिक बनावटको चिन्ता लाग्छ। जब म नुहाएर निस्कन्छु, कपडा लगाउँछु र शारीरिक आकर्षणको खोजीमा हुन्छु, तब म ऐनामा आफ्नै शरीर हेर्छु।

हुनसक्छ मेरो शरीर कसैलाई आकर्षित गर्ने खालको छैन, म पातली छु, मेरो कपाल घुम्रिएको  छ तर कुनै कपडा नलगाउँदा आफ्नो नग्न शरीरले मलाई निकै आकर्षित गर्छ। मलाई आफ्नो सेक्सुआलिटीबारे सोचेर कहिल्यै अचम्म लागेन।

तर १७ वर्षको उमेरमा जब मैले मेरा साथीहरूसँग यसबारे बताएपछि मेरो सोच नै बदलियो। सबैजना मेरा बालककालदेखिका साथी थिए तर जब मैले आफ्ना यौन अनुभव बताएँ, उनीहरू कसैले पनि मेरो कुरा बुझेनन् उल्टै मेरो कुरालाई मजाकमा उडाए।

मजाकमा म पनि उनीहरूसँगै हाँस्थें तर मनमनै सोचिरहेकी हुन्थें, मसँग के कुरा बेठीक छ। अनि त्यसपछि मात्र मैले बुझें कि म आफूप्रति नै सेक्सुअली आकर्षित हुन्छु, अरू मानिसजस्तो अर्को कुनै केटा वा केटीप्रति होइन।

हालसालै मात्र मैले थाहा पाएँ कि जसरी म आफ्नाबारे बेग्लै अनुभव गर्छु, त्यसलाई पनि विज्ञानले नाम दिएको रहेछ– अटोसेक्सुअल। अब म गर्वसाथ आफूलाई ‘अटोसेक्सुअल’ भन्न रुचाउँछु।

(यो एउटी अटोसेक्सुअल युवतीसँग बिबिसी ३ की राधिका संघानीले गरेको कुराकानीमा आधारित छ।) 

के हो अटोसेक्सुआलिटी ?

ती मानिस जो आफ्नै शरीर हेरेर वा देखेर यौन सुख पाइरहेका हुन्छन् र आफ्नै शरीरप्रति आकर्षित हुन्छन्, उनीहरूलाई विज्ञानले ‘अटोसेक्सुअल’ पुकार्ने गरेको छ।

आफ्नै शरीरप्रति यौनाकर्षण हुने उनीहरू किन्नर हैनन् लेस्बियन पनि हैनन् न समलिंगी हुन् न त गे वा बाइसेक्सुअल वा ट्रान्सजेन्डर वा क्वेर वा इन्टरसेक्स वा असेक्सुअल नै हुन्। उनीहरू ‘अटोसेक्सुअल’ हुन्। यस्ता मानिस कुनै विपरीत लिंग वा समान लिंगप्रति आकर्षित हुँदैनन्।

‘अटोसेक्सुअल’ यस्तो शब्द हो जसलाई परिभाषित गर्न वैज्ञानिक भनौं वा भाषाविद्हरूलाई निकै मेहनत गर्नु पर्यो। यो शब्द ठ्याक्कै परिभाषित गर्न न त कुनै तथ्यांक संकलन गरिएको छ न त धेरै अनुसन्धान अध्ययन नै भएका छन्।

सन् १९८९ मा यो शब्द पहिलोपल्ट यौन चिकित्सक बर्नाड एपेलबाउले प्रयोग गरेका थिए। उनले यसको प्रयोग त्यस्ता मानिसहरूका लागि गरेका थिए, जो अरू कसैप्रति आकर्षित हुन सक्दैनन्।

तर आजभोलि यो शब्दको प्रयोग यस्ता मानिसहरूका लागि गरिन्छ, जो विशेष गरी आफ्नै शरीरप्रति सेक्सुअली आकर्षित हुन्छन्।

‘मोडर्न सेक्सुआलिटी ः द ट्रुथ अबाउट सेक्स एन्ड रिलेसनसिप’ का लेखक माइकल आरोनका अनुसार आफैंप्रति आकर्षण हुनु सामान्य कुरा हो तर कोही मानिस अन्य व्यक्तिको तुलनामा आफ्नै शरीर देखेर वा छोएर निकै उत्तेजना अनुभव गर्छन्। यस्ता मानिसलाई ‘अटोसेक्सुअल’ भनिन्छ।

कतिपय विशेषज्ञका अनुसार सामान्य व्यक्तिजस्तै अटोसेक्सुअलमा पनि सेक्सुआलिटीको फरक फरक स्तर देखिन्छ। कतिपय अटोसेक्सुअल हुनुका साथै ‘अटोरोमान्टिक’ पनि हुन्छन्। उनीहरू आफैंसँग डेटिङ जान वा रोमान्टिक मौसममा एक्लै हिँड्नसमेत मन पराउँछन्।

(साभार : बिबिसी)

प्रतिक्रिया दिनुहोस्