१४ वर्ष बित्यो सर्वाेच्चको परमादेश कार्यान्वयन भएन, प्रशासन नै बिकेको स्थानीयको आरोप



जनकपुरधाम : सर्वोच्च अदालतले करिब १४ वर्षअघि जारी गरेको परमादेशलाई धनुषाको एभरेष्ट पेपर मिल्सले कार्यान्वयन नगर्दा सर्वसाधारणले झनै समस्या भोग्दै आएका छन्। 

जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित एभरेष्ट पेपर उद्योगले जथाभावी निकासी गर्दै आएको विषाक्त एवं फोहोर पानी रोक्न सर्वोच्च अदालतले २०६१ साउन १२ गते परमादेश जारी गरेको थियो। तर सम्बन्धित निकायले अटेर गरेकाले कार्यान्वयन हुन सकेको छैन।

मिलले सोडियमयुक्त विषाक्त र फोहोर पानी नदीमा जथाभावी मिसाएका कारण धनुषा, महोेत्तरी र भारतीय सीमावर्ती क्षेत्रका सर्वसाधारण तीन दशकदेखि समस्या भोग्दै आएका छ्न्।

सो पेपर मिल्सले फाल्ने गरेको विषाक्त र फोहोरयुक्त पानीका कारण धनुषा र महोत्तरी जिल्लाका कुटमेश्वरी औरही, दूधमति, र विग्ही नदी पूर्ण रुपमा प्रदूषित छन्। सो पानीका कारण  गाईवस्तुसँगै मानिससमेत रोगको सिकार हुँदै आएका छन्। 

सो क्षेत्रका पानीको लेयर(जमिनमुनिको पानी) समेत विषाक्त भएको कारण चापाकलबाट, इनार र नदी नालाको पानीको रङ कालो हुँदै गएको स्थानीयले गुनासो गरिरहेका छन्। 

सर्वोच्चको परमादेश जिल्ला प्रशासन कार्यालयले कार्यान्वयन गराउन सकेको छैन। विग्ही नदीको पानी प्रयोग गर्दा त्यस नदी आसपासका स्थानीयमा विभिन्न प्रकृतिका रोग देखा पर्न थालका छन्।  

सम्बन्धित निकाय भन्छ– ‘थाहै छैन’ 

एभरेष्ट पेपर मिल्सलाई उक्त परमादेश किन कार्यान्वयन भएन भन्ने जिज्ञासामा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले भने आफूलाई त्यसबारे केही थाह नभएको बताए। उनले भने, ‘अब फाइल हेर्छु, अनि टिम बनाएर अनुगमन गरौंला।’ एभरेष्ट पेपर मिलविरुद्ध भएको सवोच्चको फैसला कार्यान्वयन गर्ने उनले विश्वास दिलाए। 

महोत्तरी प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भने यसबारे थाहा पाए पनि उद्योग धनुषामा पर्ने हुँदा धनुषाका प्रजिअलाई भन्न अनुरोध गरे। पटक पटक यसबारे आवाज उठ्दा पनि उद्योगले जिल्ला प्रशासन कार्यालयका पदाधिकारीहरुलाई मोटो रकम खुवाएर टार्दै आएको स्थानीयले आरोप लगाएका छन्। 

३० वर्षदेखि विषाक्त पानी खान्छन् स्थानीय 

३० वर्षदेखि विग्घी र कुटुमेश्वर नदी किनारमा रहेका धनुषाका क्षिरेश्वर, मिथिला नगरपालिका, लक्ष्मिनियाँ र गाउँपालिकासहित महोत्तरीका पिपरा, पर्सालगायत ५ वटा स्थानीय तहका करिब अढाई लाख स्थानीय विषाक्त र फोहोर पानी खान बाध्य छन्।

प्रशोधनबिनै नदीमा मिसाउँदै आएको विषाक्त पानीका कारण कृषि उत्पादनमा समेत ह्रास आउनुका साथै विभिन्‍न रोग, गाईवस्तु मर्ने र माछालगायत जलचरसमेत लोप हुँदै गएका छन्। 

विसं २०३९ मा धनुषाको महेन्द्रनगरमा स्थापना भएको एभरेष्ट पेपर मिल्सले नदीहरुमा फाल्ने गरेको विषाक्त र फोहोरयुक्त पानी रोक्न विसं २०४० देखि २०६० सम्म कैयन पटक जिल्ला प्रशासन कार्यालयमा धर्ना, जुलुस र घेराउका आन्दोलन भएको थियो। २०६१ सालमा मा सर्वोच्चले परमादेश जारी गरेपछि आन्दोलन रोकिए पनि परमादेशको उल्लंघन गर्दै विषाक्त पानी नदीमा फाल्ने काम रोकिएको छैन।

प्रतिक्रिया दिनुहोस्