मौलाकालीमा केबुलकार निर्माण सुरु



नवलपुर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबलकार निर्माण सुरु गरिएको छ। सम्पूर्ण प्रक्रिया सकेर केबलकार निर्माणका लागि कन्स्ट्रक्सनको काम सुरु भएको हो।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको मौलाकाली केबलकार कम्पनीले आगामी एक वर्षभित्र मौलाकालिका मन्दिरमा केबलकार सञ्चालनमा ल्याउने गरी निर्माणको काम सुरु गरेको हो। ढकालको कम्पनीले गैँडाकोटमा केबलकारसँगै होटलसमेत सञ्चालनमा ल्याउनेछ । मौलाकाली केबलकार कम्पनीले करिब डेढ अर्बको लागतमा आयोजना अगाडि बढाएको हो । निर्माण सम्पन्नपछि सर्वसाधारणका लागि समेत सेयर निस्कासन गर्ने योजना रहेको कम्पनीले बताएको छ।

टपस्टेशनमा कन्स्ट्रक्सन निर्माणका लागि नापजाँचको काम भइरहेको छ। मन्दिर नजिकै रहेको हेलिप्याडमा केबलकारको टपस्टेशन निर्माण हुनेछ भने मौलाकालिका फेदीमा बटम स्टेशन हुनेछ। केबलकारले एकतर्फी लम्बाइ एक हजार २०० मिटर लामो हुनेछ। केबलकारमा १२ वटा डब्बा राखिने जनाइएको छ। केबलकार निर्माणका लागि स्थानीयले ४९ प्रतिशतसम्म रकम राख्न सक्नेगरी सहमति भएर काम अगाडि बढेको गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले बताए।

ऐतिहासिक धार्मिकस्थलका रुपमा रहेको मौलाकालिका मन्दिरमा लामो समयदेखि केबलकार सञ्चालनको माग उठेकाले स्थानीय सहभागिता व्यवसायी ढकाललाई निर्माणको जिम्मा दिइएको पौडेलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्