पाथीभरा क्षेत्रमा यो वर्ष तेस्रोपटक हिमपात



ताप्लेजुङ : ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको छ। समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित  प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा  हिमपात भएको हो ।

हिमपातले बाटो छोपिएपछि तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । उनले भने, “चार जना तीर्थ यात्रीसँगै लिएर जाँदैछु । हिमपात हुन रोकिएको छैन । हिउँले बाटो पूरै छोपिएको छ। बाटो अनुमान गर्दै जानुपर्नेछ ।” पाथीभरामा जानुभन्दा पनि फर्किन समस्या हुने गरेको उनले बताए ।

मन्दिर पुगेर फर्किने समयमा बाटो ओरालो पर्दछ ओरालो बाटोमा हिउँमा चिप्लिने समस्या हुने गरेको उनले बताए । पाथीभरा क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात हुन सुरु भएको हो । सोदिन ६० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको क्षेत्र विकास समितिले जनाएको छ। समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ याङमा तीन हजार ४०० मिटर उचाइ क्षेत्रका बस्तीमा बिहीबारदेखि हिमपात हुन थालेको छ ।

हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित भएको घुन्साका स्थानीय केल्साङ शेर्पाले बताए । हिमपातले जनजीवन प्रभावित हुनुका साथै पशुचौपायसमेत प्रभावित हुने घुन्साका स्थानीय टासी तेन्जीले शेर्पाले जानकारी दिए । मिक्वाखोला गाउँपालिका–६ तोक्पेगोला र पापुङ बस्तीमा समेत हिमपात भएको मिक्वाखोला गाउँपालिका–६ का वडाध्यक्ष डन्डु शेर्पाले बताए । हिमपात भएसँगै  सदरमुकाम फुङ्लिङ बजारमा चिसो बढेको छ ।

अत्यधिक जाडोले जनजीवन प्रभावित भएको छ । जिल्लामा पहिलो पटक गत पुस १३ र १४ गते हिमपात भएको थियो । दोस्रो पटक पुस २९ मा हिमपात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्