दैलेखमा १९ वर्षीया किशोरी बनिन् कांग्रेस वडा सभापति



दैलेख : १९ वर्षीया किशोरी नेपाली कांग्रेसको वडा सभापितमा निर्वाचित भएकी छन् । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दैलेखको दुल्लु नगरपालिका- ३ मा १९ वर्षीया किशोरी स्वस्तिकाकुमारी महत वडा सभापतिमा निर्वाचित भएकी हुन् । सानै उमेरमा कांग्रेसको स्थानीय नेतृत्व सम्हालेपछि उनलाई आफन्त, इष्ट मित्र र कांग्रेसजनले बधाई दिइरहेका छन् ।

दैलेखस्थित कांग्रेसका स्वर्गीय नेता भुपेन्द्र महतकी छोरीसमेत रहेकी उनि वडामा शुक्रबार भएको अधिवेशनबाट निर्वाचित भएको हुन् । उनलाई सभापति बनाउन अन्य दाबेदारले पनि साथ दिएका थिए । कांग्रेसले पछिल्लो समय युवाहरुलाई नेतृत्वमा ल्याउने प्रयास गरिरहेको छ। नेतृत्वमा पाका नेताहरु भए पनि तल्लो तहमा विस्तारै युवाहरुको जमात बढिरहेको छ।

युवाहरुलाई राजनीतिमा स्थान दिनुपर्छ भन्ने मान्यता राख्ने पार्टी भएकाले महत वडा सभापतिमा निर्विरोध निर्वाचित भएको कांग्रेस दैलेखका नेता तथा दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए । १९ वर्षीया किशोरी वडा सभापति बनेपछि विपक्षी दललेसमेत प्रशंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्