एमाले नेताहरु भन्छन् : अस्थिरतामा रमाउने वामदेवले माधव नेपाललाई पनि सिध्याउँछन्




काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथी सम्पूर्ण दोष थोपर्दै राजीनामा दिए । एमाले विभाजन हुँदै गर्दा कतैतिर पनि प्रष्ट रुपमा नखुलेका नेता गौतम अन्ततः माधव नेपाल नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने जाँचोपाँचो मिलाएर एमालेबाट बिदा लिएका छन् । यद्यपि, उनले २७ बैशाखमै एमाले विभाजन भएको अवस्थामा माधव नेपाललाई साथ दिने बताएको थिए । विगतदेखि नै पार्टीमा फरक मत राख्दै आएका नेता गौतमले आफ्नो राजीनामा सम्पूर्ण कारक नै अध्यक्ष ओली र उनका कार्यशैली भएको उल्लेख गरेका छन् ।

यता, एमालेले भने नेता गौतमको राजीनामालाई सामान्य रुपमा अथ्र्याएको छ । गौतमलाई अस्थितर नेताको संज्ञा दिँदै एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘यसले एमालेलाई कुनै फरक पार्दैन, केही घाटा हुँदैन ।’ नेता गौतमको राजनीतिक यात्राको इतिहास हेर्दा पनि उनी साँच्चिकै अस्थिर जस्तै देखिन्छन् ।

उनले एमाले छाडेको यो दोस्रो पटक हो । यसअघि ४ असोज २०५३ मा संसद्बाट महाकाली सन्धि पारित गर्दा त्यसलाई राष्ट्रघाती भन्दै वामदेव गौतमसहित सिपी मैनाली, आरके मैनाली, सहाना प्रधान लगायतले बहिस्कार गरेका थिए । त्यसपछि एमालेबाट निष्काशनमा परेका नेता गौतम २१ फागुन २०५४ मा एमाले फुटाउने अभियानका एक सूत्राधार थिए । तर चार वर्षपछि वामदेव गौतमको नेतृत्वमा अरु नेता एमालेमै फर्किएका थिए । त्यसको २४ वर्षपछि गौतमले दोस्रो पटक एमाले त्यागेका हुन् ।

९औं महाधिवेशनमा ओली पक्षबाट निर्वाचित भएका गौतम बिदा हुँदै गर्दा एमालेका नेताहरुको मिश्रित प्रतिक्रिया आएको छ । प्रमुख सचेतक विशाल भट्टराईले अस्थिरतामा रमाउने नेता गौतम बाहिरिँदा कुनै फरक नपर्ने बताउँदै गर्दा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने यो दुःखद भएको प्रतिक्रिया दिएका छन् । ‘पार्टीबाट एक जना पनि बाहिर जानु दुःखद कुरा हो । त्यसैले यो बेठिक भयो भन्ने ठान्छु म’, द नेपाल टपलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपनेता नेम्वाङले भने, ‘एक जनाले पनि पार्टी छोड्ने स्थिति बन्नु ठिक होइन भन्ने मेरो चाहिँ प्रष्टै भनाइ हो ।’

वामदेव गौतमको आगामी बाटो

नेकपा एमाले परित्याग गरेका नेता वामदेव गौतम अब नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्ने निश्चित छ । तर तत्कालै उनी माधव नेपालको पार्टीमा प्रवेश गर्ने सम्भावना भने कम छ । किनभने यसअघि नै उनले एकीकृत समाजवादीमा आउन अध्यक्ष नेपालसँग दुई सर्त अघि सारेका छन् । ती हुन्, जनताको बहुदलीय जनवाद (जबज) र संघीयता परिमार्जन ।

एकीकृत समाजवादीमा अहिले पार्टीले अङ्गीकार गर्ने मार्गदर्शन सिद्धान्त कुन हो भन्ने स्पष्ट छैन । यद्यपि, अध्यक्ष माधव नेपालले १७ गते बिहीबार संसदीय दलको नेताको रुपमा पदभार गर्ने क्रममा जबज छोडेको भनेर कु–प्रचार गरिएको बताएका थिए । नेता गौतमले यसैलाई पहिलो सर्तका रुपमा अघि सारेका छन् । पार्टीले जबजलाई मार्गदर्शन सिद्धान्तको रुपमा अङ्गीकार गर्नुपर्ने अडान उनको छ ।

यसैगरी नेता गौतमको दोस्रो सर्त छ, संघीयता परिमार्जन । यथास्थितिमा संघीयले जनताको अपेक्षा पूरा गर्न नसकेकोले यसलाई परिमार्जन गर्न पहल गर्नुपर्ने उनको अर्को सर्त हो । बिहीबार नै अध्यक्ष नेपालसमक्ष नेता गौतमले आफ्नो मागबारे प्रष्ट्याइसकेका छन् । नेता गौतमले राखेका शर्तका बारेमा आवश्यक छलफल भइरहेको एकीकृत समाजवादी पार्टीका नेताहरुले बताएका छन् ।

एकीकृत समाजवादी का नेता मेटमणी चौधरीले विचार र सिद्धान्तका सवालमा निरन्तर छलफल हुने बताए । ‘विचारको सवालमा हामी निरन्तर छलफल गर्छौं’, नेता चौधरीले द नेपाल टपसँग भने, ‘अबको १०/१५ दिनभित्रै राष्ट्रिय सम्मेलन टुङ्ग्याउँछौं । त्यसैबेला हामी यसबारे निर्णयमा पुग्छौं ।’ यद्यपि नेता चौधरीले एउटै विचार हरेक समय र परिस्थितिका लागि उपयुक्त नहुने तर्क गरे । ‘आज उत्कृष्ट भएको र लागेको विचार अबको १०/१५ वर्षपछि ठिक नहुन पनि सक्छ । यसलाई पुनःविचार गर्नुपर्ने पनि हुनसक्छ’, उनले भने, ‘यो निरन्तर समृद्ध हुँदै जाने क्रममा भएका कमजोरीहरुलाई सच्याउँदै जानुपर्ने हुनसक्छ ।’ नेता गौतमले राखेका अर्को सर्त संघीयता परिमार्जन पनि समयक्रमसँगै हुँदै जाने नेता चौधरीले बताए ।

नेता गौतमले एकीकृत समाजवादी पार्टीमा आफ्नो छुट्टै अस्तित्व होस् भन्ने चाहन्छन् । यसअघि नै नेता गौतमले आफू माधव नेपालको पार्टीमा सामेल भएको खण्डमा आफूलाई कुनै महत्वपूर्ण जिम्मेवारीसहित आफूलाई साथ दिएकाहरुको उचित व्यवस्थापन हुनुपर्ने माग अघि सारेका थिए । उनकै माग बमोजिम पार्टीमा नेता गौतमलाई सह–अध्यक्ष वा उपाध्यक्ष दिइने चौधरीले बताए । ‘हामीले उहाँलाई स्वागत गछौं’, उनले भने, ‘अब उहाँ हाम्रो पार्टीको दोस्रो अध्यक्ष वा उपाध्यक्ष बन्नुहुन्छ ।’

माधवको पार्टीमा गौतमको सहभागिताबारे एमाले नेताहरुको टिप्पणी

नवगठित एकीकृत समाजवादीमा जाने वामदेव गौतमले जाँचोपाँचो मिलाइरहेका बेला एमालेका नेताहरु भने नयाँ दलले औचित्य स्थापित गर्नै नसक्ने दाबी गर्छन् । पार्टी राजनीतिक विचारधारा, दर्शन र कार्यक्रमको आधारमा गठन हुने भएपनि विभाजन भएर गएको पार्टीसँग त्यस्तो कुनै आधार नभएको एमाले उपनेता सुवास नेम्वाङले बताए । ‘मुलुकमा पार्टी विभाजनकै कुरा छ । तर यो विभाजनको औचित्य स्थापित हुने कुनै पनि आधार छैन’, उनले भने, ‘पार्टी राजनीतिक विचारधार, दर्शन र कार्यक्रमको आधार गठन हुने कुरा हो । तर अहिले त्यसको कुनै पनि अधार देखिएको छैन ।’

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पनि एकीकृत समाजवादी पार्टी ढिलोचाँडो ध्वस्त हुने दाबी गरे । साथै उनले बामदेव गौतम एकीकृत समाजवादीमा पनि स्थिर रहन नसक्ने टिप्प्णी गरे । ‘त्यो पार्टी कहिले भन्ने मात्र हो तर ध्वस्त हुने पाक्का छ’, ‘उहाँ (वामदेव गौतम) अस्थितरतामा रमाउने नेता हो’, उनले भने, ‘माधव नेपाललाई भोलि सबैभन्दा दुःख दिने र सिध्याउने वामदेव नै हो ।’

तर एकीकृत समाजवादीका नेताहरु भने सिस्टम बसाएर पार्टीलाई विस्तार गर्दै लैजाने बताउँछन् । एमाले अध्यक्ष ओली आफ्नै अनुकूल चल्नाले एमाले विभक्त भएको बताउँदै नेता मेटमणी चौधरीले भने, ‘सिस्टममा चल्यो भने पार्टी ठूलो हुँदै जाँछ । आफ्नै अनुकूलतामा चलाउ खोजेपछि पार्टीको गन्तव्य फुट नै हो नि ।’ एमाले नेताहरुको टिप्पणी आन्मसन्तुष्टिका लागि मात्र आएको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्