अछाममा प्रहरी र सवारीचालकबीच झडप, ३ जना घाइते



अछाम : अछामको साँफेबगरमा प्रहरी र चालकबीच झडप हुँदा ३ जना घाइते भएका छन् । चालकको आन्दोलनका क्रममा बुधबार दुई पक्षबीच झडप भएको हो । घाइते ३ जनालाई वयालपाटामा समान्य उपचारपछि थप उपचारका लागि कैलाली पठाइएकोे प्रहरीले जनाएको छ ।

 

प्रहरीले हस्तक्षेप गर्दै गोली चलाएको आरोप चालकहरूले लगाए पनि प्रहरीले भने आत्मरक्षाका लागि अश्रुग्यास मात्रै चलाएको दाबी गरेको छ ।

 

अछामका प्रहरी निरीक्षक टेकबहादुर रावतले मंगलसेनबाट आएका गाडी साँफे पक्की पुल नजिकै रोकेर प्रहरीमाथि चालकहरु जाइलागेकाले अवस्था नियन्त्रणमा लिन पाँच सेल अश्रुग्याँस चलाएको बताए ।

 

प्रहरीले गोली चलाएको भन्दै आक्रोशित सवारी चालकले साँफेबगर नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्नाका साथै नगरपालिकाको सवारी साधनमा तोडफोड र बजार बन्द गराएका थिए ।

ढु‌ंगा प्रहारबाट प्रहरी सहायक निरीक्षक र एक प्रहरी जवानसमेत घाइते भएको उनले जानकारी दिए ।

 

सरकारले सवारी साधन दुर्घटनामा कुनै व्यक्तिको मृत्यु भएमा चालकले १२ वर्ष जेललगायतका सजाय भोग्नुपर्ने गरी कानून ल्याइएको भन्दै चालकले तीन दिनदेखि आन्दोलन गर्दै आएका छन् ।

 

चालकले आह्वान गरेको बन्दका कारण बाजुरा, अछामलगायत बाहिरबाट आउने यात्रु बीच बाटोमै अलपत्र परेका छन् भने शिक्षक सेवाको परीक्षा दिन जिल्लाबाहिर जाने परीक्षार्थी पनि समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्